काठमाडौं,१० मंसिर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई धराशायी बनाएर निजी कम्पनीलाई जिम्मा लगाउने षड्यन्त्रलाई जानी नजानी साथ दिने अटेरी विमान चालकहरुलाई निगमका कार्यकारी अध्यक्ष र अपरेसन विभागका प्रमुखले जोर चेतावनी दिनुभएको छ ।
मुख्य पर्यटकीय सिजन बाँकी नै रहेको र नेपालको राष्ट्रिय गौरव र प्रतिष्ठाको रुपमा संसारभरका चर्चित क्रिकेट खेलाडी निम्त्याएर पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग खेलमा सहभागीहरु आउने हवाई सेवालाई नै प्रभावित हुने गरी विगत पाँच दिनदेखि निगमका आठ जना पाइलटले तलब भत्ता बढाउने माग राखेर उडान ड्युटीमा अवरोध ल्याएका छन् ।
निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका चारै वटा जहाज सुचारु ढंगले चल्नका लागि सबै पाइलटहरुले नियमित सेवा गर्नै पर्दछ । केही समय अगाडिसम्म निगमका सबै जहाज सञ्चालनमा आएका थिएनन् । केही पहिले निगमका न्यारोबडीका जहाजका इन्जिन फेर्न लगिएको थियो भने त्यसपछि दुवै वाइड बडी जहाजहरुको सिचेक गर्न इटाली लगिएको थियो । त्यसैले पाइलटहरुले मुन्टो बटारेपनि खास असर परेको थिएन ।
तर डिसेम्बर २१ देखि आठ जना पाइलटहरुले कहिले बिरामी र कहिले आकस्मिक काम परेको निहुँ निकालेर जहाज उडाउने काममा अवरोध गरेपछि निगमलाई उडान तालिका सुचारु गर्न निकै कठिनाई परको छ । निगमले आज सार्वजनिक गरेको सूचना अनुसार निर्धारित समयमा उडान नभएर आइतबार अलपत्र परेका यात्रुलाई सोमबार जसोतसो गन्तव्यमा लगिएको छ ।
सेवासुविधाको माग गर्दै निगमका विमान चालकले बिदामा बसेर विरोध जनाएपछि आइतबार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए । उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए । भारतको नयाँ दिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको हो । यात्रुलाई आइतबार राति मुम्बई र सोमबार बिहान दुबई लगिएको थियो ।
निगममा कार्यरतमध्ये केही क्याप्टेनले यही मङ्सिर ६ गतेदेखि ‘सिक रिपोर्ट’ र ‘अर्जेन्ट वर्क रिपोर्ट’ गर्दै आएकामा मङ्सिर ८ गते शनिबारदेखि उडानमा प्रभाव देखिन थालेको थियो । निगममा रहेका ४३ क्याप्टेनमध्ये आठ जनाले निगमलाई धराशायी बनाउने गलत प्रवृत्तिलाई साथ दिंदै आएका छन् ।
कार्यकारी अध्यक्ष र व्यस्थापन पक्ष तलब बढाउन पर्यटन र अर्थमा
निगम व्यवस्थापनले हिजो पनि ड्युटी छोडेर निगमलाई अप्ठ्यारोमा पार्ने आठ पाइलटहरुलाई तुरुन्त काममा फर्कन र नफर्केमा निगमको नियमित उडानमा आएको अवरोधले हुन गएको क्षति नियमानुसार उठाउने जानकारी सहितको कडा चेतावनी दिएको थियो । तर त्यसलाई समेत बटारिएका पाइलटहरुले टेरेनन् ।
आज पनि निगम व्यवस्थापनका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन्स डाइरेक्टर क्याप्टेन दिपु ज्वहारचनले सबै ककपिट क्रुहरुका लागि जानकारी पत्र जारी गर्दै अविलम्ब काममा फर्केर निगमका उडानहरु सुचारु गर्न निर्देशन दिनुभएको छ ।
उक्त विज्ञप्तिमा निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको भन्दै यसलाई व्यवस्थापनले गम्भीर रुपमा लिएको जनाइएको छ। त्यसमा निगमलाई पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने जनाउँदै सम्पूर्ण विमानचालकलाई आ–आफ्नो रोस्टरअनुसार उडान सञ्चालन गर्न सूचित गरिएको छ ।
पर्यटन र अर्थ दुवै सकारात्मक
उक्त जानकारी पत्रमा जनाइए अनुसार पाइलटहरुको पारिश्रमिक बढाउने विषयमा निगम व्यवस्थापन, पर्यटन सचिव, पर्यटन मन्त्री सकारात्मक हुनुहुन्छ । उहाँहरु दुवैले निगमले पठाएको प्रस्तावमा सहमती जनाउदै अर्थमन्त्रालयमा पठाउनुभएको छ । आज र हिजो पनि निगमका कार्यकारी अध्यक्ष अधिकारी,अपरेसन्स विभागका निर्देशक ज्वहारचन, वाणिज्य विभागका टंकनिधि दाहालसहितको टोली,पर्यटन मन्त्री,सचिव र संबन्धित विभागीय सहसचिवसंग छलफल गरिसकेपछि सामूहिक रुपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न अर्थमन्त्रालय पुगेको थियो । छलफलमा अर्थमन्त्री पौडेलले सचिवहरुलाई समेत राखेर दक्ष र सीपयुक्त जनशक्तिलाई अन्तर्राष्टिैय प्रचलन अनुसार नै तलबभत्ता दिनु उपयुक्त हुने तर नेपालको आफ्नो आर्थिक अवस्थालाई ख्याल गरेर समाधान खोज्नुपर्ने अवस्था रहेकोले विमान चालकहरुलाई तुरुन्त काममा फर्कन आग्रह गर्दै यो समस्याको यथाशीघ्र समाधान निकाल्ने आश्वासन दिनुभएको थियो । निगमका कार्यकारी अध्यक्ष र अपरेसन विभाग प्रमुखले सो जानकारी बटारिएका पाइलटहरुलाई समेत दिइसक्नुभएको छ ।
जहाज किन्दाको ठूलो कर्जा र कर्जाको महंगो ब्याजका कारण उकासिन नसकेको निगमले अन्तराष्ट्रिय उडान गर्ने चारै जहाजहरु भर्खर मर्मतसंभार सकेर पूर्ण क्षमतामा सेवा दिन सक्ने बेलामा केही कमाउने आशा राखेको थियो । पर्यटकीय सिजन नसकिएको र खेल सिजन सुरु हुन लागेको यस्तो सुनौला मौकामा निगमको जहाजको नियमित उडान रोकिदिने, यसको अतर्राष्ट्रिय साखः र विश्वसनीयता गिराइदिने र आम्दानी गर्ने अवसरबाट बञ्चित गराएर अरु प्रतिस्पर्धी विमान सेवाहरुलाई आम्दानीको बाटो जुटाइदिने पाइलटहरुको ब्यबहारलाई कसैले राम्रो मानेका छैनन् ।
यसै पनि हवाई सेवा र त्यसमा काम गर्ने कर्मचारीहरुको सेवा अत्यावश्यक सेवामा पर्दछ । यसमा हड्ताल निषेधित छ । कोरोनाको समयमा अरु मानिस कोठाबाट बाहिर ननिस्केको बेलामा पनि नेपाली पाइटलहरुले कोरोनाको उद्गम चीनको बुहान र अन्य शहरमा फसेका, विभिन्न देशका विभिन्न शहरमा फसेका नेपालीलाई स्वदेश ल्याउने र नेपालमा फसेका विदेशीलाई उनीहरुको राष्ट्रसम्म पुर्याउने काम गरेका हुन् । कोरोनाकालमा औषधि र उपकरण ल्याउन पनि नेपाल वायुसेवामा कार्यरत पाइलटहरुले निकै सहयोग गरेका हुन् ।
तर यो सामान्य अवस्थामा कर्जामा चुर्लुम्म डुबेको संस्थाका व्यवस्थापन समक्ष तलब भत्ता भन्ने वित्तिकै बढाएन भनेर उडान रोक्ने अवस्था सिर्जना गर्नाले बिमान चालकहरुको प्रतिष्ठा बढेको छैन् । एनपीएलमा सहभागी नेपाली र विदेशीहरु नेपालको प्रतिष्ठा बढाउन अग्रसर भइरहेको बेला देशको राष्ट्रिय ध्वजाबाहको प्रतिष्ठा समाप्त पार्दै नेपालको हवाई उडानको साखः समाप्त पार्ने विमान चालकहरुले आफ्नै प्रतिष्ठा खस्किरहेको पनि चाल पाएका छैनन् । तलब बृद्धिको माग उठाउदै सेवा सुचारु पनि गर्न सकिन्थ्यो । तलब भत्ता बढाउने अर्थमन्त्री नै सकारात्मक भएपछि त्यो स्तरका पाइलटहरुले सरकारप्रति विश्वास पनि गर्नुपर्दथ्यो ।
पाइलटहरुको हालको कार्यशैलीले यो संस्थालाई धराशायी बनाएर कौडीको भाउमा किन्न खोज्ने निजी क्षेत्रलाई मात्र फाइदा पुगेको छ । के पाइलटहरु निगमका दुश्मनहरुको गोटी बनेका हुन् त ?