Prakash Adhikari January 12, 2025

काठमाडौं, २८ पौष। कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले मन्त्रालय बहालीपछि भन्नुभएको थियो, कृषिमा अनुदान लिनेको नाम नामेसी सार्वजनिक गर्छु ।

तर उहाँले आइतबार पत्रकार सम्मेलनमार्फत पछिल्लो ५ वर्षमा मन्त्रालयले कृषकहरूलाई प्रवाह गरेको अनुदान रकमको परिमाण मात्र सार्वजनिक गर्नुभयो । अनुदान लिनेको नाम आएन ।

मन्त्रालयका अनुसार ५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम प्रवाह भएको छ । जसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको मन्त्रालयले दावी गरेको छ ।

आर्थिक वर्ष २०७६। ७७ देखि आव २०८०।८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार प्रत्यक्षतर्फ (मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकम मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान रकम) २० अरब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ (अनुदानित रासायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको मन्त्रालयले जनाएको छ ।राज्यबाट अनुदान लिने तर उद्देश्य अनुरूप रकमको सदुपयोग नभएको गुनासो आएपछि मन्त्रालयले अनुदान रकम प्रवाहबारे जानकारी दिएको हो ।

प्रत्यक्षतर्फ अनुदान प्रवाह

मन्त्रालयका अनुसार विगत ५ वर्षमा प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ ।

स्वदेशी तथा विकास साझेदारको सहकार्यमा सञ्चालित परियोजना तथा उखु कृषक प्रोत्साहन अनुदान कृषि बिमाको प्रिमियम अनुदान पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियम अनुदान मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत उक्त अनुदान रकम प्रवाह भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

मन्त्रालयका अनुसार यस परियोजनाबाट १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको छ ।

रानी जमरा गुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

यस आयोजनाबाट २१ हजार ४ सय ५० कृषि सहकारी, कृषि समूह, कृषि फर्महरू मार्फत कुल १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम

यस कार्यक्रमतर्फ २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल ८० करोड १९ लाख ६१ करोड रुपैयाँ रकम प्रवाह भएको छ ।

नेपाल लाइभस्टक इनोभेसन आयोजना

यस आयोजनामा ११ हजार १ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना

यस आयोजनामा ४६ हजार २ सय २६ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ ।

रिड परियोजना

मन्त्रालयका अनुसार यस परियोजना अन्तर्गत स्टार्टअप ग्रान्टका कार्यक्रमहरू छन् । जसले गर्दा लाभग्राही छनोटमा ढिलाइ हुन पुगेको थियो । सोही कारण चालु आव २०८१ ।८२ सम्म ३६६ कृषकलाई १ करोड ६४ लाख ४८ हजार रुपैयाँ अनुदान रकम प्रवाह भएको मन्त्रालयले जनाएको छ।

उखु कृषक प्रोत्साहन अनुदान

यस अनुदान मार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ अनुदान कृषकलाई वितरण गरिएको छ ।

कृषि बीमा प्रिमियम अनुदान

कृषि बीमाको प्रिमियम अनुदानतर्फ ५० करोड ४८ लाख ८२ हजार रुपैयाँ अन्दान वितरण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम अनुदान

पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियम अनुदानतर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको तथ्यांक छ ।

प्याक्ट परियोजना (०६६।६७ देखि ७४।७५)

यस परियोजना अन्तर्गत १ हजार २ सय २३ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत २ अर्ब १० करोड २६ लाख रुपैयाँ अनुदान प्रवाह भएको छ ।

Share Now