Prakash Adhikari July 3, 2018

गनी अन्सारी
संवाददाता, बीबीसी न्यूज नेपाली

नेपालमा गत सात वर्षमा प्राकृतिक विपद्‌मध्ये भूकम्पपछि चट्याङका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा सङ्कलित विवरणका अनुसार २०६८ देखि २०७४ सालको अवधिमा चट्याङका कारण सात सय ७३ जनाले ज्यान गुमाएका छन्।

त्यसबाट झन्डै १७ सय घाइते भएका छन्। सबैभन्दा बढी भूकम्पका कारण करिब नौ हजार मानिसको ज्यान गएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा सङ्कलित विवरण अनुसार चट्याङका कारण २०६९ सालमा सबैभन्दा बढी १ सय ३१ जनाको ज्यान गएको थियो।

कारण
त्यसपछि दोस्रो बढी २०७१ सालमा १२८ जनाको चट्याङ्गका कारण ज्यान गएको सो केन्द्रले जनाएको छ।

विसं २०७३ मा ११५ जना, २०७० मा १११ जना, २०७४ मा १०५, २०६८ मा १०३ जना र २०७२ मा ८० जनाको ज्यान गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा सङ्कलित विवरणमा उल्लेख छ।

चट्याङविज्ञ श्रीराम शर्माका अनुसार मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने गर्छ।

कारणबारे उनी भन्छन्, “चट्याङको आवाजबाट मान्छेका कानका जालीसम्म फुट्नसक्छ र ज्यान जानसक्छ। अर्को सूर्यको सतहमा हुने जति तापक्रम चट्याङमा हुन्छ। त्यसले गर्दा मान्छेको ज्यान जान्छ।”

विज्ञहरूका अनुसार नेपालमा मध्यचैतदेखि मध्यअसारसम्म बेलुकातिर बढी चट्याङ पर्ने गर्छ।

गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखाका सहसचिव केदार न्यौपानेका अनुसार झापा, इलाम, सङ्खुवासभा, भोजपुर, काभ्रेपलान्चोक र मकवानपुर जिल्लामा चट्याङसँग सम्बन्धित बढी घटना हुने गरेको छ।

बच्ने उपाय
त्यसको कारणबारे भने नेपालमा कुनै वैज्ञानिक अध्ययन भइसकेको छैन।

चट्याङ पर्नेबेला मान्छेले सावधानी अपनाउन सकेको खण्डमा त्यसबाट हुने क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्।

विज्ञ शर्माका अनुसार चट्याङ पर्ने समयमा किसानहरूले दिउँसो र साँझ गर्ने काम बिहान सार्दा मृत्युदर घटाउन सकिन्छ।

त्यस्तै गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा गाडीभित्र बस्दा बच्न सकिन्छ।

थप उपायबारे उनी भन्छन्, “यदि खेत वा मैदानको छेउबाट हाइटेन्शन लाइन गएको छ भने दुईवटा खम्बाको बीचमा समदूरी पारेर बस्दा सुरक्षित हुनसक्छ।”

सचेतना
यसबारे सर्वसाधारणमा सचेतना फैलाउन आवश्यक भएको विज्ञहरूको जोड छ।

त्यसमा स्थानीय रेडियो, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुनसक्छ।

यो कुरालाई राज्यले पनि आत्मसात् गरेको बताउँदै विपद् व्यवस्थापन महाशाखाका सहसचिव न्यौपाने भन्छन्, “जनचेतना जगाउनुका साथ साथै बढी जोखिम रहेका ठाउँमा अर्थिङ गर्ने उपकरण जडान गर्ने दिशामा हामी अगाडि बढिरहेका छौँ।”

विज्ञहरूका अनुसार प्राकृतिक विपद्लाई टार्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ।

र, राज्यले निर्वाह गर्ने भूमिकासँगै मान्छेको सजगता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

Share Now

Leave a comment.