Prakash Adhikari May 24, 2026

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ तेस्रो साता भारत भ्रमणमा जाने हुनुभएको छ।

भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा उहाँले आगामी जुन १ देखि २ सम्म भारत भ्रमण गर्ने हुनुभएको हो।

रास्वपा स्रोतका अनुसार भारत भ्रमणका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ।

भारत भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस।जयशंकर, विदेश सचिव विक्रम मिश्री तथा अन्य अधिकारीहरूसँग भेट्ने समेत तय भइसकेको छ।

सभापति लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनसँग पनि भेट गर्ने कार्यक्रम छ। सभापति लामिछानेको स्वागत भारतीय जनता पार्टीको कार्यालयमा गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले भेट नदिने भएपछि भारतीय विदेश सचिव बिक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। मिश्री प्रधानमन्त्री शाहलाई भारत भ्रमणको ‍औपचारिक निमन्त्रणा दिन नेपाल आउन लाग्नुभएको थियो।

भारत र चीनबीच लिपुलेकबाट कैलाश यात्रा हुने सम्झौता भएपछि नेपालले कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो। नेपालको बाटो हुँदै भारतचीन मार्ग खुला गर्दा नेपालसँग कुनै छलफल नगरिएको भन्दै सरकारले भारत र चीन दुवै देशसँग आपत्ति प्रकट गरेको थियो।

परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने बताइए पनि उहाँ सहभागी हुनै कार्यक्रम नै रद्द गरेर भारतले सरकारी स्तरको भ्रमणलाई प्राथमिकताबाहिर पारेको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहले कम्तिमा एक बर्ष विदेश भ्रमण नगर्ने अडान लिएको र सरकारका अन्य मन्त्रीहरुको भ्रमण पनि नियन्त्रित भएकोले भारतले दुई देशको सरकारस्तरबाट सुल्झाउनु पर्ने राजनीतिक र कुटनीतिक काम कारबाही सत्तारुढ दलका शीर्ष नेताहरुको भ्रमणबाट सहजीकरण गराउदै दलको माध्यमबाट सरकारमार्फत गराउने छड्के उपाय निकालेको हो ।

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ बहुमत आएपछि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाहलाई टेलिफोन गरेरै बधाई र शुभकामना सन्देश दिनुभएको थियो।

Share Now