वंदना /बीबीसी टीभी एडिटर (भारतीय भाषाहरू)
हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उनका छोरा सरफराज खानले पुष्टि गरेका छन्।
सरफराज खानले बीबीसी हिन्दीसँग भने, “हाम्रा पिता अब हामीसँग रहनु भएन।”
८१ वर्षीय कादर खान वरिष्ठ अभिनेता मात्र थिएनन्; उनी एक पटकथा तथा सम्वाद लेखक पनि थिए।
उनको स्वास्थ्य अवस्था केही दिनदेखि बिग्रिरहेको थियो र सामाजिक सञ्जालमा उनको निधन भइसकेका हल्लाहरू चलेका थिए।
अभिनेता अमिताभ बच्चन र अभिनेत्री रविना टंडनले ट्वीट गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका थिए।
सन् १९८० र ९०को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग कैयौँ चलचित्रमा काम गरेका थिए।
सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिवुडमा पाइला राखेका कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।
चलचित्रप्रेमीको सिङ्गो पुस्तालाई राजेश खन्नाले कसरी सम्मोहित पारेका थिए?
कब्रिस्तानदेखि अभिनयको यात्रा
रातको समयमा मुम्बईको उनको घर नजिकै यहूदीहरूको अन्तिम संस्कार गर्ने कब्रिस्तान थियो। त्यहाँ रातको सन्नाटामा एक बालक सम्वादको रियाज गरिरहन्थे…
एक रात त्यस्तै रियाज जारी रहेको बेला कसैले टर्चलाइट बालेर सोधे कब्रिस्तानमा के गर्दै छौ?
ती बालकले दिउसोको समयमा पढेका राम्रा कुराहरूको आफूले रियाज गर्ने गरेको बताए। अशरफ खान नाम गरेको ती व्यक्ति चलचित्रमा काम गर्थे। उनले सोधे के तिमी नाटकमा काम गर्छौ?
ती बालक कादर खान थिए। त्यो बेलादेखि शुरु भएको उनको अभिनय यात्रा दशकौँसम्म चलिरह्यो।
कादर खानले सन् १९७८ मा लेखेको मुक्कदरका सिकंदरमा त्यस्तै कब्रिस्तानको एउटा मार्मिक दृश्य छ जसमा एक सानो बालक आमाको मृत्यु भएकोमा रोइरहेको देख्न सकिन्छ।
त्यो दृश्यमा बाटो हिँड्दै गरेको एक जोगीको भूमिकामा कादर खान आफैंले खेलेका छन्। उनले भनेका छन्, “यो जोगीको कुरा याद राख्नु। जिन्दगीको सही उद्देश्य थाहा पाउने हो भने मृत्युसँग खेल्नु। सुखले त धोका दिन्छ। त्यो आउँछ अनि जान्छ। दु:ख त आफ्नो साथी हो। त्यो आफैँसँग रहन्छ। आँसु पुछिदे। दु:खलाई अङ्गालो हाल। भाग्य तेरो पाइला पाइलामा हुनेछ र तँ मुक्कदरको बादशाह बन्नेछस्…”
त्यो दृश्य कादर खानको घर नजिकैको कब्रिस्तानमा खिचिएको थियो।
‘सम्वादका राजा’ कादर खान
कादर खानले सन् १९७० को दशकमा संवाद लेखेर र अभिनय गरेर निकै नाम कमाए।
खून पसीना, लवारिस, परवरिश, अमर अकबर एन्थनी, नसीब, कुली जस्ता चलचित्रमा उनले पटकथा वा सम्वाद लेखेका थिए। अमिताभ बच्चनको अभिनय यात्रा अगाडि बढाउन पनि उनको भूमिका अहम रहेको ठानिन्छ।
तथापि उनको शुरुवाती जिन्दगी निकै संघर्षले भरिएको थियो।
कतिपय अन्तर्वार्तामा कादर खानले बताएअनुसार अफगानिस्तानमा उनको जन्म हुनुपूर्व उनका तीन दाजुभाइको मृत्यु भइसकेको थियो। त्यसपछि उनका मातापिताले अफगानिस्तान छोडेर भारत आउने निर्णय गरे।
छिट्टै आमाबुवाको सम्बन्धबिच्छेद भयो। त्यसपछि सौतेलो बाबुसँगको उनको बाल्यकाल निकै गरिबीमा गुज्रिन थाल्यो। त्यति हुँदाहुँदै पनि उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा सम्मको अध्ययन पूरा गरे र त्यसपछि मुम्बईका कलेजहरूमा केटाकेटीहरू पढाउन थाले।
कलेजमा एक पटक नाटक प्रतियोगिता गरिएको थियो जहाँ नरेन्दर बेदी र कामिनी कौशल निर्णायक समूहमा थिए। कादर खानले उत्कृष्ट अभिनेता तथा लेखकको पुरस्कार पाए र उनलाई एउटा चलचित्रको सम्वाद लेख्ने अवसर जुर्यो। पारिश्रमिक थियो १५०० रुपैयाँ।
त्यो चलचित्र थियो सन् १९७२ को सफल फिल्म जवानी-दीवानी। त्यसपछि उनले रफूचक्कर जस्तो फिल्ममा काम गर्ने अवसर पाए।
मनमोहन देसाईले सुनको ब्रेसलेट दिए
तर कादर खानको जिन्दगीमा अझै ठूलो मोड सन् १९७४मा आयो जतिबेला उनलाई मनमोहन देसाई र राजेश खन्नासँग रोटी चलचित्रमा काम गर्ने अवसर जुट्यो।
मनमोहन देसाईले कादर खानबाट धेरै आशा भरोसा गरेका थिएनन्। मनमोहन देसाईले भन्ने गर्दथे, “तिमीहरू सायरी त निकै राम्रो गर्छौ तर मलाई यस्तो सम्वाद चाहियो जुन सुनेर मानिसहरूले ताली बजाउन्।”
त्यसपछि एक दिन कादर खानले सम्वाद लेखेर ल्याए। त्यो मनमोहन देसाईलाई यति धेरै मन पर्यो कि उनी घर भित्र गए र आफ्नो तोशिबा टीभी, २१००० रुपैयाँ र ब्रेसलेट कादर खानलाई त्यहीको त्यही उपहार स्वरूप थमाइदिए।
पहिलो पटक कादर खानले सम्वाद लेखेबापत एक लाख रूपैयाँ भन्दा बढी पारिश्रमिक दिइयो। त्यहीबाट शुरु भयो मनमोहन देसाई प्रकाश मेहरा र अमिताभ बच्चनसँगको कादर खानको गजबको यात्रा।
एकपछि अर्को गरेर कादर खानले लेखेका फिल्महरू र संवादहरू हिट अर्थात् सफल हुन थाले। अग्निपथ, शराबी, सत्ते पे-सत्ता – अमिताभ बच्चनलाई कादर खानले गज्जबका सम्वादहरू दिन थाले।
साथसाथै अघि बढ्न थाल्यो कादर खानको अभिनयको यात्रा पनि। सन् १९७३मा दाग चलचित्रमा उनी सामान्य वकिलको भूमिकामा देखिए। सन् १९७७ मा अमिताभ बच्चनसँगै प्रहरी निरीक्षकको सानो भूमिकामा देखिए।
त्यसपछि खून पसीना, शराबी, नसीब, कुर्बानी जस्ता फिल्मको लाइन लाग्यो। उनलाई दर्शकहरूले खलनायकको रूपमा चिन्न थाले।
अमिताभ बच्चनसँगको मित्रता
कादर खानको अर्को एउटा विशेषता भनेको उनी चलेको ओठले के भनेको भनेर लिप रिडिङ गर्न सक्थे। उनी आफ्नो प्राय अन्तरवार्तामा यो घटना सुनाउँथे, “शुरु शुरुका दिनमा म मनमोहन देसाईको घर गएका बेला उनले टाढैबाट मलाई देखेर ‘उल्लू के पठ्ठेको समझ मे नहीँ आया, फिर आ गया’ भने।
नजिक गएर मैले उनलाई तपाईँले मेरोबारे यो यो शब्दहरु बोल्नु भयो भनेर भनेँ। म लिप रिडिङ गर्न सक्छु भनेँ। पछि उनले नसीब फिल्ममा त्यही दृश्य प्रयोग गरे। त्यसमा नायिकाले खलनायकको कुरा चलेको ओठ पढेर बुझ्छिन्।
अमिताभको अभिनय यात्रामा कादर खानको महत्त्वपूर्ण भूमिका रहेको छ। एक समय कादर खान र अमिताभ बच्चनबीच गहिरो मित्रता थियो।
बीबीसीलाई दिइएको एउटा अन्तरवार्तामा कादर खानले भने, “म अमिताभलाई लिएर एउटा फिल्म बनाउन चाहन्थेँ। त्यसको नाम जाहिल थियो। तर त्योभन्दा पहिले नै बच्चनलाई कुलीको शूटिङ्गको बेला निकै चोट लाग्यो। त्यसपछि उनी राजनीतिमा गए र फिल्म कहिल्यै बन्न पाएन। हामीबीच पनि दूरी बढ्यो।”
हास्य कलाकारको रूप
तस्वीर कपीराइटGETTY IMAGES
सन् १९८३ मा कादर खानले फिल्म हिम्मतवाला लेखे र आफ्नो लागि हास्य कलाकारको भूमिका पनि। त्यसअघि नकारात्मक भूमिकामा देखिने गरेका उनी त्यसभन्दा फरक भूमिकामा देखिन चाहन्थे। त्यहीँबाट उनको लेखनयात्रा र अभिनय दुबैमा नयाँ मोड आयो।
फिल्मी संवादमा झर्रो सडक शैली प्रयोग गरेपछि फिल्मी भाषा बिग्रिएको कादर खान बताउँछन्। यसमा आफ्नो पनि दोष रहेको उनले बीबीसीलाई बताए।
सन् १९९० को दशकमा कादर खानले लेखनलाई सीमित गरे। तर डेविड धवन-गोविन्दासँग उनको जोडी खुबै जम्यो। त्यतिबेला पनि उनी आफ्नो संवाद आफैँ लेख्थे। आफै नहाँसी अनुहार नबिगारी दर्शकलाई कसरी हसाउन सकिन्छ भन्ने कला कादर खानमा थियो।
सिकिरहने कादर खान
कादर सधैँ नयाँ नयाँ कुराहरु सिकिरहन्थे। अभिनय सँगसँगै उनी हल्ला नगरीकन उस्मानिया विश्वविद्यालयबाट अरबी सिक्थे।
पछिल्लो एक दशकदेख कादर खान फिल्मी संसारबाट टाढिए जस्तै भए। अरबी सिकेपछि उनको व्यस्तता निकै बढ्न थाल्यो। स्वास्थ्य बिग्रन थालेपछि भने उनले अधिकांश समय क्यानडामा आफ्ना सन्तानसँग समय बिताउन थाले।
कादर खानले आफ्नै शैलीमा चलचित्र लेखन संवाद र अभिनयलाई अघि बढाए। एक चलचित्र प्रेमीको नाताले मलाई सधैँ लागिरह्यो कि कादर खानको क्षमताको हामीले भरपूर फाइदा उठाउन सकेनौँ। नत्र यस्तो वहुप्रतिभाशाली व्यक्ति जो राम्रो बोल्न सक्छन् राम्रो लेख्न सक्छन् आकर्षक अभिनय गर्न सक्छन् त्यस्तो मान्छे कमै भेटिईन्छन्।