Prakash Adhikari January 9, 2018

लण्डन(संयुक्त अधिराज्य बेलायत), २५ पौष(बीबीसी) । हृदयाघात भएका महिलालाई हुने असमान उपचारका कारण उनीहरूको मृत्युको सम्भावना निकै बढ्ने गरेको एउटा अनुसन्धानले देखाएको छ।

पुरुषसरह समान उपचार नपाएका कारण हृदयाघात भएका महिलाहरूको मृत्युको सम्भावनामा तीन गुणाले वृद्धि हुने गरेको पाइएको एउटा नयाँ अनुसन्धानले देखाएको छ।

ब्रिटेन र स्विडेनका वैज्ञानिकहरूले १० वर्ष लगाएर गरेको उक्त अध्ययनले बाइपास सर्जरी र स्ट्याटिन्स् दिइए हृदयाघात भएका महिलाहरूको बाँच्ने दरमा नाटकीय सुधार आउने देखाएको छ।

चिन्ता
ब्रिटिश हार्ट फाउन्डेसनका प्राध्यापक जेरेमी पियर्सनका अनुसार उक्त अनुसन्धानले चिन्ता लाग्ने कुराहरू पत्ता लगाएको छ।

उनले तत्काल यस विषयमा सतर्कता बढाए सजिलै परिवर्तन हुन सक्ने उल्लेख गरे।

एकजना अनुसन्धाता प्रध्यापक क्रिस गेलले सामान्यतया मध्यम उमेरको बढी तौल भएको एक व्यक्ति जसलाई मधुमेह रोग छ र जसले धूमपान गर्छ उसलाई मात्र हृदयाघात हुन्छ भन्ने धारणा परिवर्तन गर्नुपर्ने बताएका छन्।

सधैँ त्यस्तो नहुने र महिलासहित विभिन्न मानिसलाई यसले असर गर्ने उनले बताए।

स्विडेनमा दश वर्ष लगाएर सन् २०१३ सम्ममा हृदयाघात भएका एक लाख ८० हजार बिरामीमाथि अनुसन्धान गरिएको हो।

औषधोपचार
ब्रिटेनमा प्रत्येक वर्ष १ लाख २४ हजार पुरुष र ७० हजार महिलाहरू हृदयाघातका कारण अस्पताल भर्ना हुन्छन्।

उक्त अध्ययनमा ुस्टेमीु भनिने गम्भीर प्रकारको हृदयाघात भएका महिलाहरूले थुनिएका रक्तनली खुलाउन बाइपास सर्जरी वा स्टेन्ट उपचार पाउने सम्भावना पुरुषको भन्दा ३४ प्रतिशत कम रहेको पाइएको थियो।

साथै स्टेटिनजस्ता दोस्रो हृदयाघात रोक्ने औषधोपचार पाउने सम्भावना पनि महिलालाई २४ प्रतिशत कम हुने गरेको छ।

एस्पिरिन औषधि दिइने सम्भावना उनीहरूलाई १६ प्रतिशतले कम हुने देखिएको छ। उता महिला र पुरुष दुवैलाई यी सबै उपचार समान रूपले दिइनुपर्ने निर्देशिका रहेको छ।

Share Now

Leave a comment.