Prakash Adhikari April 20, 2020

काठमाडौं, ७ बैशाख । कोरोना भाइरसको संक्रमण रोक्नका लागि ठाँउ ठाँउमा क्लोरिन लगायतका औषधी छर्कने कार्य औचित्यहिन भएको विज्ञहरुले बताएका छन् ।

स्मार्ट वास सोलुसन प्रा.लि.को आयोजनामा आइतबार राजधानीमा भएको भिडियो कन्फरेन्समा सहभागी विज्ञहरुले सो विचार व्यक्त गर्नुभएको हो ।

सो कन्फरेन्समा बोल्दै विश्वस्वास्थ्य संगठनमा कार्यरत राष्ट्रिय व्यवसायी अधिकृत डा.सुधनराज पन्थीले  अहिले कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि भनेर ठाँउ ठाँउमा क्लोरिन लगायतका डिस्इन्फेसनका औषधीहरु छर्कने गरिएको  सामाचारहरु सार्वजनिक भएको बताउदै भन्नुभयो, ‘कोरोनाका भाइरसहरु सिंगान,थुक खकारजस्ता मुखबाट निस्कने पदार्थका छिटाहरुबाट सर्ने बाहेक हावाबाट सरेको कुनै पुष्टि नभएको र खानेपानी वा निसृत फोहरपानीबाट पनि फैलन सक्ने पुष्टि नभएकोले जमीनमा औषधी छर्केर यो नियन्त्रण हुन्छ भन्ने तथ्य विश्व स्वास्थ्य संगठनको आधिकारिक वेभसाइटहरुमा देखिदैन  ।’

कार्यक्रममा विज्ञ वक्ताको रुपमा उपस्थित हुनुभएका डा.पन्थीले सामाजिक दूरी कायम राख्ने र हातको धुलाई नै कोरोनाभाइरसको संक्रमणबाट बच्ने सर्वोत्तम उपाय देखिएकोले यसको पालनामा नै बढी ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षण उपकरण पहिरिने, त्यसको बचाउ गर्ने, उतार्ने, तिनलाई निसंक्रमित गर्ने र पुन प्रयोग गर्ने सम्बन्धमा पालना गर्नुपर्ने सावधानी अपनाउन नसकेकोले यो घातक रोगको संक्रमणमा परेर जीवन गुमाउनु परेको घट्ना पनि प्रस्तुत गर्नुभएको थियो ।

उहाँको कथन छ, ‘यस्ता सुरक्षण उपकरण पहिरिएर कर्मक्षेत्रमा खटिएपछि पनि निरन्तर हात धुने वा स्यानिटाइजर उपयोग गर्न कार्य गर्न सकिएन भने संक्रमित व्यक्तिको सम्पर्कमा रहेर काम गर्दा मास्क लगायत अन्य सुरक्षण उपकरणमा हाम्रो हातबाटै भाइरसहरु सर्दछन् र तिनीहरु हाम्रो शरिरमा प्रवेश गर्दछन् । यस्ता उपकरण उपयोग गर्ने सही विधिका १८ कदम मध्ये ८ कदममा हातधुने कार्यको उल्लेख भएको छ । इटाली लगायतका मुलुकमा उपचारमा खटिएका डाक्टर र नर्सहरुको मृत्यु हुनुको कारण यसको सही पालनमा ध्यान नदिएकोले पनि हो ।’

डा. पन्थीले संक्रमित वा सन्देहास्पद व्यक्तिहरुको हेरचाहमा रहनेले उनीहरुले उपयोग गरेका लुगाफाटालाई तातोपानीमा धुन र उनीहरुको सम्पर्कबाट निस्केका फोहर मैलालाई अलग ढंगले संकलन र व्यवस्थापन गर्न सुझाव दिंदै भन्नुभयो, ‘मानव शरिरका सम्पर्कमा नआएमा यी भाइरसहरु मर्ने भएकोले यसका विरामीले उपयोग गरेर निस्केका फोहरमैलाहरु ४ । ५ दिनमा भाइरसरहित हुन्छन् । त्यसपछि नगरीय फोहरमैलामा मिसाउदा त्यति जोखिम हुँदैन । अन्यथा फोहरमैला संकलकसम्म पनि यसको जोखिममा पर्दछन् ।’

डा. पन्थीले कोरोनाबाट बच्नको लागि सर्वोत्तम उपाय नै हात धुने बानी भएकोले यसलाई ओझेलमा पार्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रमका अर्का वक्ता खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा. रजित ओझाले कोनोनाभाइरसको प्रकोप देखिएपछि सरकारले खानेपानी तथा सरसफाई क्षेत्रलाई समेटेर मार्गदर्शनहरु बनाएको उल्लेख गर्दै यसको संक्रमण नियन्त्रण र रोकथामका योजनाहरु बनाएर प्रदेशस्तरमा पठाइसकिएको जानकारी दिनुभएको थियो ।

उहाँले जर्मन सहयोग संस्था जि आइ जेडको सहयोगमा मुख्य शहरी क्षेत्रका अस्पताल र क्वारेन्टाइन स्थलहरुमा खानेपानी,स्वच्छता, स्वास्थ्य र सरसफाईको अवस्था विश्लेषण भैरहेकोले त्यसको रिपोर्ट आएपछि यस क्षेत्रमा गरिने सुधारको कार्यक्रम आउने जानकारी दिंदै अहिले मन्त्रालयसंग रहेको चुनौतिमा क्लोरिनको पर्याप्त उपलब्धता र मैदानमा खटिने जनशक्तिको लागि व्यक्तिगत सुरक्षण सामग्रीको उपलब्धता रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वसचिव ई.किशोर थापाले जथाभावी क्लोरिनेशन वा औषधी छर्कने काम रोक्न स्थानीय निकायलाई अनुरोध गर्नपर्ने बताउनुभयो । उहाँले खानेपानीको क्षेत्रमा कार्यरत जनशक्तिले खानेपानी बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी संस्थान र नेपाल सरकार वा विदेशी दातृसंस्था वा गैरसरकारी संस्थाहरुले निर्माण गरेका खानेपानी आयोजनाहरुबाट उत्पादन भएर वितरण भएको पानी ट्यांकर वा जारको पानी आपूर्ति गर्ने निकायले उपलब्ध गराएको पानीभन्दा गुणस्तरीय,सुरक्षित र स्वच्छ भएको सन्देश पुर्याउन अत्यावश्यक भएको बताउनुभयो ।

कार्यक्रमका अर्का सहभागी डा. इन्दिरा पराजुलीले खानेपानीमा क्लोरिनका मात्रामा ध्यान दिन आग्रह गर्नुभएको थियो । विश्व स्वास्थ्य संगठनले प्रतिलिटर ०.०२ मिलिग्रामदेखि ०.०५ मिलिग्राम क्लोरिन राख्दा त्यसले खानेपानीलाई कोलिफर्मरहित बनाउन सक्ने बताएको छ ।

कार्यक्रममा स्मार्ट वास सोलुशनका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले खानेपानी तथा ढल निकास विभागले खानेपानीमा कतिमात्रामा क्लोरिन मिसाउने भन्नेबारेमा खानेपानी आयोजनाका प्रतिनिधिहरुलाई तालिम दिएको र नियमित परीक्षणको लागि किट पनि उपलब्ध गराएको बताउनुभयो । उहाँले विभागले यसको हातेपुस्तिका पनि बनाएर वेभसाइटमार्फत सबैको जानकारीको लागि राखिदिएको पनि बताउनुभयो ।

https://dwssm.gov.np/wp-content/uploads/2019/05/Water-Safety-Plan-Hand-Book_Nepali.pdf

स्मार्ट वाटर सोलुसनका अध्यक्ष ई. रामदीप साहको अग्रसरतामा भएको सो भिडियो कन्फरेन्सको सहजीकरण पूर्व मन्त्री ई. गणेश साहले गर्नुभएको थियो । कार्यक्रममा पूर्वसचिव सुमन शर्मा, काठमाडौ विश्वविद्यालयका प्राध्यापक डा.सुवोध शर्मा, डा. दिनेश मानन्धर, डा.सुनिल जोशी ,क्रिबिना पाठक लगायत सहभागी हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.