काठमाडौं, १ आषाढ । सरकारले लकडाउन खुकुलो बनाए पछि पनि नेपालको पूँजी बजार खुलाएर नेपालमा आर्थिक गतिविधि निर्वाध चलिरहेको सन्देश दिन नेपाल सरकार असमर्थ भएको छ ।
आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई शेयर बजार नखोल्ने निर्णय गरेपछि यो स्थिति आएको हो ।
नेप्सेको सञ्चालक समितिको बैठकले असार ४ गते बिहीबारसम्मको लागि बजार बन्द गर्ने निर्णय गरेको छ।
यसअघि जेठ ३२ गतेसम्मको लागि शेयर बजार बन्द गर्ने निर्णय भएको थियो।
आइतबार नै धितोपत्र बोर्डमा लगानीकर्ता र बोर्डको विचमा बैठक निष्कर्षविहीन टुगिंएको थियो।
लगानीकर्ताहरुले बजार सुधारको काम नगरी बजार नखोल्न आग्रह गरेपछि बैठक निष्कर्ष विहीन टुङ्गिएको हो।
बोर्डले पाँचवटै लगानीकर्ताको सँगठनहरुलाई बोलाएर गरेको छलफलमा लगानीकर्ताहरुले बजार सुधारका कुनै कार्यक्रम नल्याइ बजार खोल्न नहुने बताएका थिए।
बीचमा बजार खोल्दा लगातार दुई दिन नकारात्मक सर्किट हानेपछि लगानीकर्ताहरुको मनोबल खस्किएकोले उनीहरुले सुधारको माग गरेका हुन् ।
चैत्र ११ गतेदेखि देशमा लकडाउन सुरु भएपछि गत वैशाख ३० गते सेयर बजार खुलेको थियो । तर खुलेको डेढ घण्टा नबित्दै १२ बजेर २३ मिनेट जाँदा बजार दुई प्रतिशत घट्न पुग्यो र नयाँ व्यवस्था अनुसार नेगेटिभ सर्किट लागेर बन्द हुन गयो । सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक २५ .३० अंकले घटेर १२२६.१५ अंकमा आइपुगेको थियो । कारोबार रकम भने १० करोड ४ लाख ३७ हजार रुपैयाँ हाराहारीमा भएको थियो ।
अझ बैशाख ३१ गते बुधबार त कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको थियो ।
सो दिन नेप्से परिसूचक २ प्रतिशत अर्थात २४.५८ अंकले घटेर १२०१.५७ अंकमा बन्द भएको थियो ।
लकडाउनकै बीचमा खुलेको २ दिनमा लगातार नेगेटिभ सर्किट हान्न थालेपछि लगानी कर्ताको दबावमा बजार बन्द गराइएको थियो ।
यद्यपि नेपाल धितोपत्र बोर्डले लकडाउनका बीचमा पनि देशको अर्थतन्त्रको ब्यारोमिटर मानिने पूँजी बजारलाई सुचारु गर्ने अभिप्रायले केही खुकुला प्रावधान अबलम्बन गर्ने नीतिगत निर्णय गरी बजार दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने,प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गरेको थियो ।
बोर्डले नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिने, धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने जस्ता प्रावधान कार्यान्वयनमा ल्याएर बजार खुलाएको थियो ।
धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्डले उपलब्ध गराउने प्रवन्धसमेत मिलाइएको थियो।
बजारलाई जीवन्त राख्ने अभिप्रायले नेप्से, सीडीएससी, मर्चेन्ट बैङ्करलगायतको कार्यालय बैशाख २९ देखि सञ्चालनमा आएका पनि थिए।
माग र आपूर्तिमा निर्भर बजार भएकोले सेयरको मूल्य बजार आफैले निर्धारण गर्ने भएकोले यो बजार बन्द गराउन नहुने धारणा यसका जानकारहरुले व्यक्त गरिरहेका छन् । विश्वका धेरै मुलुकमा लकडाउन हुँदा पनि सेयर बजार भने खुला रहेको अवस्था थियो ।
विदेशमा रहेका नेपाली पनि आउने क्रम रहेको क्रेताहरुको चाप बढ्ने र अन्य आर्थिक गतिविधिहरु खुल्ने तथा कम्पनीहरुको साधारण सभाहरु पनि हुने क्रम रहेकोले आर्थिक बर्षको अन्तिम महिना लागि सकेको सन्दर्भमा यो बजारलाई बन्द गराउन उपयुक्त नहुने विज्ञहरुले बताएका छन् ।
विश्वमा कोरोना संक्रमण पनि घट्दै गएको र आर्थिक गतिविधिहरु पनि बढ्न थालेको परिप्रेक्षमा नेपालका अन्य क्षेत्रहरुले आफ्नो व्यवसाय चलाउन पाउने माग गरिरहेको बेलामा पनि घरमै बसेर सुरक्षित कारोबार गर्न पाउने सेयर बजार बन्द गराउन लगानीकर्ता र सरकारी निकायहरु अग्रसर हुन अनौठो पहेली बनेको छ ।
सेयर कारोबारलाई वित्तीय कारोबार अन्तरगत राखिएको छ र सरकारले वित्तीय कारोबार रोक्ने फुकुवा पनि गरेको छ तर यसका नियामक निकाय र कारोबार सञ्चालन गर्ने निकाय भने यसलाई खुलाउन गम्भीर देखिएका छैनन् । जबकी बजार निरन्तर ओरालो लाग्दा पनि , बजार यो भन्दा पनि तल आउदा पनि मुटुमाथि ढुंगा राखेर बजारलाई बन्द हुन दिएका थिएनन् ।