Prakash Adhikari January 23, 2018

काठमाडौ, ९ माघ (बीबीसी)। राष्ट्रियसभाको चुनावमा प्रदेश नम्बर २ मा तालमेल गर्नका निम्ति तराई केन्द्रित दलहरुले संविधान संशोधनबारे मागेको प्रष्ट प्रतिबद्धता वाम गठबन्धनले दिन असमर्थता जनाएपछि उनीहरुले नेपाली कांग्रेससँग तालमेल गरेका छन्।

मंगलबार साँझ टुंगिएको वार्तामार्फत प्रदेश नम्बर २ मा राष्ट्रियसभाको कुल ८ सदस्यमध्ये तराई केन्द्रित दलहरु संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी नेपालले २/२ सिट लिने अनि कांग्रेसले २ लिने सहमति भएको राजपा नेपालको वरिष्ठ उपाध्यक्ष वृशेषचन्द्र लालले बीबीसीलाई बताए।

बुधबार बिहान १० बजेदेखि राष्ट्रियसभाका निम्ति उम्मेद्वारी दर्ता गराउन पर्ने भएकाले मंगलबार साँझ नेपाली कांग्रेससँग छलफलमा बस्नुअघि तराईकेन्द्रीत दलहरुले वाम गठबन्धनसँग दुई पटक कुराकानी गरेका थिए।

संशोधनको मुद्दा
शुरुको वार्तामा वाम गठबन्धनले तराई केन्द्रित दलहरुसँग सम्बन्ध बिग्रिएको भएपनि आफ्नो नियत खराब नभएको बताएका थिए।

जबकि तराई केन्द्रित दलहरुले चाहिँ मित्रता नवीकरणका लागि संकेत देखाउने जिम्मा गठबन्धनको भन्दै तालमेल र संविधान संशोधनमा थप लचकताको आश प्रकट गरेका थिए।

त्यस्तो आशको एउटा प्रमुख पाटो भनेको पहिलो संविधानसभामा बुझाइएको राज्य पुनर्संरचना आयोगको प्रतिवेदन बमोजिम संविधान संशोधनको प्रतिबद्धता वाम गठबन्धनले व्यक्त गरोस् भन्ने रहेको राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए।

उनले भने, “हामीले के भन्यौं भने राज्य पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार नेकपा एमालेले संविधान संशोधनको प्रतिबद्धता व्यक्त गर्नुपर्छ। त्यस आधारमा मात्र हामी तालमेल गर्न समर्थ हुनेछौं।”

पहिलो संविधानसभाको अन्तिम अवधि ताका सो आयोगले सदस्यहरुबीच एकमत हुन नसकेपछि बहुमत र अल्पमतका आधारमा ११ प्रदेश र ६ प्रदेशको प्रस्ताव सहित फरक प्रतिवेदन सरकारलाई बुझाएको थियो।

विधान संशोधन आवश्यकता र औचित्यको आधारमा हुन सक्छ भनेर हामीले भनेका छौं। त्यसभित्र जे कुरा पर्छ त्यो पर्छ, जे पर्दैन त्यो पर्दैन। संविधान जारी भइसकेको अवस्थामा विगतका समितिका प्रतिवेदन अहिलेको विषयवस्तु बन्न सक्छ जस्तो मलाई लाग्दैन
अग्नि खरेल, नेकपा एमालेका नेता
औचित्य
अहिले आएर त्यतिखेरको प्रतिवेदनको औचित्य नरहने नेकपा एमालेका नेता अग्नि खरेलले बताए।

“विधान संशोधन आवश्यकता र औचित्यको आधारमा हुन सक्छ भनेर हामीले भनेका छौं। त्यसभित्र जे कुरा पर्छ त्यो पर्छ, जे पर्दैन त्यो पर्दैन। संविधान जारी भइसकेको अवस्थामा विगतका समितिका प्रतिवेदन अहिलेको विषयवस्तु बन्न सक्छ जस्तो मलाई लाग्दैन,”खरेलले बताए।

यी सैद्धान्तिक विषय बाहेक दुई पक्षबीच तालमेलको प्राविधिक बाँडफाँट पनि मिल्न सकेन।

यसैपनि प्रदेश २ को कुल ८ सिटमध्ये २ सिट जित्ने अपेक्षा राखेको वाम गठबन्धनले थप १ सिट आफूलाई दिए ५ सिटमा तराई केन्द्रित दललाई सघाउन सक्ने प्रस्ताव गरेको थियो। तर ती दलले ६ सिटमै सहयोग मागिरहेको बताएका थिए।

तर पछि नेपाली कांग्रेससँग भने उनीहरुले ४ सिटमै चित्त बुझाएका छन्।

Share Now

Leave a comment.