काठमाडौं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संकटमोचनमा पार्टीका विभिन्न गुटहरुबीच सेतुको रुपमा काम गर्दै आउनुभएका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले पार्टीको एकता गम्भीर संकटमा पुगेको उल्लेख गर्दै यसलाई जोगाउन कार्यकर्तासंग अपील गर्नुभएको छ ।
महासचिव पौडेलले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो अपील गर्नुभएको हो।
‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ’, उहाँले भन्नुभएको छ, ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरू समक्ष अनुरोध गर्दछु।’
संकट समाधानका लागि आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्नुपर्ने उहाँले बताउनुभएको छ। पार्टी एकता रक्षाका लागि नेता कार्यकर्ता सबैले एकजुट हुनुपर्ने तर्क पनि उहाँले गर्नुभएको छ ।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।
— Bishnu Prasad Paudel (@bpaudel1959) November 1, 2020
पार्टीमा बाहिरबाट देखिने ठूला ठूला मतभेदलाई पनि धैर्यताका साथ पार लगाउन समर्पित रहदै आउनुभएका महासचिव पौडेल यसपटक भने थाकेर कार्यकर्ता र नेताहरुसंग हारगुहार गर्नुभएको छ ।
गत बैशाख ८ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र सचिवालयका अन्य शीर्षनेताहरुलाई जानकारी नदिइकन दल विभाजन सजिलो बनाउने र संवैधानिक परिषद्को बैठकमा प्रतिपक्षी दलको नेताको उपस्थिति नभएपनि काम गर्न बाधा नहुने गरी दुई अध्यादेश जारी गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि विभाजनको विन्दुमा पुगेको पार्टीलाई पुनः एकताबद्ध गराउन उहाँले निर्णायक भूमिका खेल्नुभएको थियो ।
पार्टीका उपाध्यक्ष बामदेव गौतमले ६ बूँदे समाधान सार्वजनिक गरेपछि मत्थर भएको पार्टीभित्रको ध्रुवीकरण प्रधानमन्त्रीको अनिच्छा रहदा रहदै पनि राष्ट्रिय सभाको रिक्त सदस्यमा तात्कालीन अर्थमन्त्री डा.युवराज खतिवडालाई मनोनित गर्न राष्ट्रपतिमा सिफारिस नगरी पार्टी उपाध्यक्षलाई गौतमलाई सो पदमा सिफारिस गर्न प्रधानमन्त्री ओली राजी भएपछि सेलाएको थियो ।
तर उपाध्यक्ष गौतमको मन्त्री बन्न पाउने अधिकारको विषयमा अदालतमा मुद्दा परेर अल्झिनु, प्रधानमन्त्रीले राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीका अर्का अध्यक्ष प्रचण्डको सहमति नलिनु, कर्णाली प्रदेशमा प्रधानमन्त्री ओली निकट यामलाल कँडेलद्धारा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइनु, पर्सामा पूर्वमाओवादी निकट कार्यकर्तालाई ओली निकट कार्यकर्ताहरुले हत्या गर्नु र त्यसका विरुद्ध दिएको जाहेर प्रहरीले बुझ्न नमान्नु र भारतीय जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीले बिशेष भेट गर्नुले नेकपाका प्रधानमन्त्री ओली विरोधी खेमाका नेताहरुको मन कुँडिएको छ ।
राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो ।
पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ ।
नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।

शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच ११ दिनपछि भेटवार्ता भएको थियो। भेटको क्रममा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो। प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीले विमति नजनाएपनि पार्टीभित्र हार्दिकता उत्पन्न हुन सकेको छैन ।
कार्यकारी अध्यक्ष प्रचण्डसंग विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत सहकार्यको लागि प्रस्ताव गर्नुभएको थियो। तर अप्ठ्यारो पर्दा धनुष्टंकार हुने र सहज वातावरण बनेपछि कसैलाई नटर्ने बरु सबैलाई खाल्डोमा जाक्ने उपाय खोज्दै हिड्ने प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि वरिष्ठ नेता नेपालले विश्वास गर्न सक्नुभएन ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार आउन नमानेपछि शुक्रबार प्रधानमन्त्री ओलीले आफूनिकट नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाउनुभयो। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबार प्रचण्डको निवास खुमलटार पुगेर अलग अलग भेटवार्ता गर्नुभएको थियो।
शनिवारको भेटपछि असाध्यै धैर्यवान र लचिलो नेता मानिनुहुने महासचिव पौडेलको ट्वीटर अभिव्यक्ति आएकोले नेकपाभित्रको स्थिति अनुमान गरेभन्दा भयावह र जुट्न नसक्ने अवस्थामा पुगिसकेको बताइन्छ ।