Prakash Adhikari December 2, 2021

 

बंगलुरु(कर्नाटक, भारत), १६ मंसिर । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फेला परेको पुष्टि भएको छ।

सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको छ।

भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट फेला परेको पुष्टि भएको हो।

सरकारका एक अधिकारीका अनुसार ती सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम भएको बताएको छ।

भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको थियो।

ती परीक्षणको परिणाम अझै आइसकेको छैन।

अरू सहरमा पनि ओमिक्रोनको परीक्षण सुरु गरिएको छ।

ओमिक्रोन

ओमिक्रोन
बुधवारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्‌कङ र इजरेलबाट आउने यात्रुलाई कडाइ गरेको छ।

भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइनेछैन।

सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ।

कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारन्टीनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ।

विश्व स्वास्थ्य सङ्गठनले गत साता नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न का रूपमा वर्गीकरण गरेको थियो।

के छ नेपालको स्थिति ?

नेपालमा अहिलेसम्म ओमिक्रोन भेटिएको पुष्टि भएको छैन।

तर कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोनाभाइरसको जीन सीक्वन्सिङ कार्यलाई ूपहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएकोू अधिकारीहरूले बताएका छन्।

ओमिक्रोन

कोभिड
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌का अधिकारीहरूका अनुसार ूअब पहिलेको तुलनामा चाँडोचाँडोू जीन सीक्वन्सिङ गरिनेछ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाभाइरसको उक्त भेरिअन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ।

नेपालले पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै दक्षिण अफ्रिकाबाट नेपाल आउनेहरूमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ओमिक्रोनको जोखिमबारे विचार गरेर परीक्षण र जीन सीक्वन्सिङको पाटोमा गरिने कामलाई तीव्रता दिन थालिएको छ।

“विदेशबाट आउनेहरूको परीक्षण गर्दा कसैको पनि सङ्क्रमण पुष्टि भएको पाइयो भने उनीहरूको नमुना राखेर त्यो नमुना अनिवार्य रूपमा सीक्वन्सिङ गर्ने र अरू नियमित तरिकाले पुष्टि भइरहेका सङ्क्रमितहरूको नमुनामध्ये स्याम्प्लिङ गरेर सीक्वन्सिङ गर्ने भन्ने छ”, केही दिनअघि बीबीसीसँग कुरा गर्दै डा.अधिकारीले भन्नुभएको थियो।

“ती नमुनाहरूको हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र हामीसँग सम्झौता भएअनुसार पब्लिक हेल्थ इङ्ग्ल्यान्डमा पठाएर जीन सीक्वन्सिङ गर्ने प्रबन्ध मिलाएका छौँ।”

यो भेरिअन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको हो।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यो भेरिअन्टबाट सङ्क्रमित मानिसको सङ्ख्या बढेको देखिएको जनाएको छ।

एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले उक्त भेरिअन्टमा धेरै उत्परिवर्तनहरू र तीमध्ये केही चिन्ताकारक भएको जनाएको थियो

पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरू थप घातक छन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन।

बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म कोरोनाभाइरसमा भएकामध्ये अहिलेका उत्परिवर्तनले भाइरसलाई अत्यधिक सङ्क्रामक बनाएको बताएका छन्। भाइरसमा धेरैवटा उत्परिवर्तन भएकाले एक वैज्ञानिकले यसलाई ूभयानकू भनेर व्याख्या गरेका छन्।

अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन्।

कोभिडओमिक्रोन भेरिअन्टबारे हामीलाई के थाहा छ ?

विश्व स्वास्थ्य सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को सङ्केतबाट चिनाएको थियो। पछि यसको ओमिक्रोन नामकरण गरियो।

यो भेरिअन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित छ।

दक्षिण अफ्रिकास्थित सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनभेशनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टभन्दा यो ूधेरै भिन्नू भएको र ूउत्परिवर्तनको अस्वाभाविक सङ्ग्रहू देखिएको बताउनुभएको थियो।
सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० वाटभन्दा बढी स्पाइक प्रोटीन भएको बताउनुभयो।

धेरै खोपले भाइरसको तहमा हुने काँडाजस्तो देखिने स्पाइक प्रोटीन भनिने अवयवलाई तारो बनाएका हुन्छन्। स्पाइक प्रोटीन मानिसको कोषमा टाँसिने र भित्र छिर्न सघाउने अवयव हो।

उत्परिवर्तनहरू हानिकारक नहुन पनि सक्छन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो।

तर यो भेरिअन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ। पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.