काठमाडौं, ६ कार्तिक । सोमबार बसेको मन्त्री परिषद्को बैठकले २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सरकारी तथा निजी घर र अन्य सांस्कृतिक सम्पदा एवम् भौतिक संरचनाहरुको निर्माणको महत्वपूर्ण जिम्मेवारी पूर्र्व अर्थसचिव युवराज भूषाललाई सुम्पेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर, जर्मनीको डोर्टमन्ड विश्वविद्यालयबाट विकास योजनामा स्नातकोत्तर गरेका भूषाल अनुभवी प्रशासक मानिन्छन । थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विकास अर्थशास्त्रमा स्वर्णपदक विजेता भूषाल अर्थ र विकास प्रशासनमा राम्रो दखल छ ।
प्राधिकरणमा चौथो कार्यकारी प्रमुखको रुपमा आएका भूषालले पुनर्निर्माणको काम भने नयाँ र्ढगले शुरु गर्नुपर्ने अवस्था छ । तीन वटा बर्षा र दुई हिउँद त्रिपाल र अस्थायी टहरामुनि गुजारेका हजारौ परिवार सरकारले घरबनाइदेला भनेर आशा गरेर बसेका छन् ।
निकै ठूलो आकांक्षा सहित दोहोर्याएर प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बन्न आएका डा. गोविन्द पोखरेलले पूर्णकालिन राजनीतिमा सक्रिय हुने इरादा राखी बाहिरिने बेलामा सरकारी अनुदान वितरणको प्रक्रियालाई व्यवस्थित गर्ने काम सकेर अब असल प्रशासकले सम्पादन गर्न सक्ने स्तरमा पुर्याइएको बताएका छन् ।
भूकम्प प्रभावित कतिपय जिल्लामा त पहिलो किस्ता नै पुगेको छैन् । अस्थायी टहरा बनाएकाहरु सरकारले दिने रकमले स्थायी घर बनाउन नपुग्ने बताइरहेका छन् । घर लडेपछि ऋण घन गरेर ओतलाग्ने ठाँउ बनाएकाहरुलाई प्राधिकरणले खटाएका प्राविधिकहरुले उनीहरुको निर्धारित डिजाइन र स्वीकृत मापदण्डभित्र नपरेको भनेर पहिलो किस्ता पनि दिएको छैनन् ।
प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट माग्न जाने नेता र कार्यकता सहानुभूति दर्शाएर फकर्नु पर्ने अवस्था छ , भूकम्प पीडितको । स्थानीय तहमा निर्वाचित पदाधिकारी आए पनि अनुदान वितरणमा उनीहरुको भूमिका परिभाषित छैन् ।
उनीहरुको संलग्नतामा भूकम्प पीडितको आवास निर्माणका लागि अनुदान दिने कार्यलाई गति दिने जिम्मेवारी नयाँ कार्यकारी अधिकृत युवराज भूषालको काँधमा आएको छ ।
प्राधिकरणका अनुसार २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त निजी घरको संख्या ७ लाख ६७ हजार ७ सय ५ छ ।असोज मसान्तसम्म भूकम्पबाट क्षतिग्रस्त ६२ हजार १ सय ८८ वटा घर निर्माण भएका छन्, । थप १ लाख ४७ हजार दुई सय ९२ घर निर्माणाधीन छन् ।
हालसम्म पूरै किस्ता पाउने लाभग्राहीको संख्या १८ हजार दुई सय ३६ छ । यस्तै, ९६ हजार सात सय २६ लाभग्राहीले दोस्रो किस्ता बुझेका छन् । र, पहिलो किस्ता मात्र पाउनेको संख्या ६२ हजार ६ सय ४६ छ ।
अनुभवी र व्यवहारिक प्रशासकको रुपमा परिचित भूषालले यस जिम्मेवारीलाई कुशलतापूर्वक सम्हालेर भूकम्पले घरबारबिहिन भएका नेपालीलाई आफ्नै घरमा बस्ने चाहनालाई मूर्त रुप दिने अपेक्षा गरिएको छ ।