Prakash Adhikari December 11, 2024

जेरेमी होवेल । बीबीसी विश्व सेवा

लण्डन(संयुक्त अधिराज्य), २६ मंसिर । इजरायलले सिरियाली सैनिक शिविरहरूमा सयौँ पटक हवाई हमला गरेको छ अनि आफ्नो नियन्त्रणमा रहेको सिरियाली भूभागमा थप अतिक्रमण गर्दै गोलन हाइट्सस्थित असैनिकीकृत मध्यवर्ती क्षेत्रमा आफ्नो सेना पठाएको छ।

आफ्ना नागरिकको सुरक्षाका लागि त्यसो गर्नुपरेको इजरायलको दाबी छ।

तर इजरायलले आफ्नो पुरानो शत्रुलाई कमजोर बनाउन मौका छोपेको धारणा अन्य पक्षको छ।

डिसेम्बरदेखि इजरेलले सिरियामा गरेका हवाई आक्रमण

यूकेस्थित सिरियन अब्जर्भेटरी अफ ह्यूमन राइट्सले आइतवार बशर अल(असदको सत्ता ढलेयता ३ सय १० वटाभन्दा बढी हमला भएको अभिलेख आफूसँग भएको जनाएको छ।

ती हमलामा उत्तरमा रहेको अलेपोदेखि दक्षिणको दमास्कसमा अवस्थित सिरियाली सैन्य संरचनाहरू, हतियार र गोलीगट्ठा भण्डार, विमानस्थल, जलसेनाको शिविर र अनुसन्धान केन्द्रहरूलाई निसाना बनाइएको विवरण आएको छ।

सिरियन अब्जर्भेटरी अफ ह्यूमन राइट्सका संस्थापक रामी अब्दुल रहमानले ती हमलाहरूले सिरियाली सेनाको सबै सामर्थ्य ध्वस्त पारिरहेको र  सिरियाली भूमिमा अतिक्रमण भइरहेको बताउनुभयो।

इजरायलले सिरिया असदपछिको युगमा प्रवेश गर्न लाग्दा हतियार उग्रवादीहरूको हातमा पर्न नदिन आफूले त्यस्तो कदम चालेको बताएको छ।

रासायनिक अस्त्रबारे इजरायलको चिन्ता

बशर अलअसदसँग रहेको भनेर आरोप लगाउने गरिएको रासायनिक अस्त्रभण्डार कसको हातमा पुग्छ भन्नेमा इजरायलको चासो देखिन्छ।

सिरियासँग कति त्यस्ता अस्त्र छन् भन्ने थाहा छैन। तर पूर्वराष्ट्रपति असदसँग रासायनिक अस्त्रको भण्डार नै भएको ठान्ने गरिन्छ।

रासायनिक पदार्थ निगरानी गर्ने संयुक्त राष्ट्रसङ्घी निकायले सोमवार त्यस्ता अस्त्रहरू सुरक्षित रहेको सुनिश्चित गर्न इजरायललाई अनुरोध गरेको थियो।

पहिला सिरियामा राष्ट्रसङ्घीय अस्त्र निरीक्षकको भूमिका निर्वाह गरेका ओका सेल्स्ट्रमका अनुसार इजरायलले हवाई हमला गरेर सिरियाको रासायनिक अस्त्र क्षमतालाई निसाना बनाएको छ।

“इजरायलले उनीहरूको सम्पत्ति खोस्दै छ। त्यो मानवदेखि भौतिक संरचना वा उपकरण जे पनि हुन सक्छ”, उहाँले भन्नुभयो।

बशर अल-असदप्रति बफादार सुरक्षाकर्मीहरूले सन् २०१३ मा दमास्कसभन्दा बाहिरको एउटा इलाकामा विषालु ‘सरीन’ ग्यास प्रयोग गरेका थिए। त्यसबाट १,००० भन्दा बढी मानिसको ज्यान गएको ठानिएको छ।

उनीहरूमाथि सरीन ग्यास, क्लोरीन ग्यास र अरू रासायनिक अस्त्रहरू हालै भएका आक्रमणहरूमा पनि प्रयोग गरेको आरोप लाग्ने गरेको छ।

सेल्स्ट्रमका अनुसार विद्रोही फौजहरूसँग पनि त्यस्ता अस्त्रको भण्डार हुन सक्छ। आफ्ना शत्रुविरुद्ध उनीहरूले सिरियामा त्यस्ता पदार्थ र अस्त्र प्रयोग गरेको कुरा पहिला पत्ता लागेको थियो।

“असदसँग इजरायलसँगको द्वन्द्वमा केही शक्ति देखाउनका लागि यी अस्त्रहरू थिए तर उनी सुरुमै ती अस्त्र प्रयोग गरिहाल्दैनथे। तर अहिले पूरै नयाँ सरकार छ।उनीहरूसँग रासायनिक अस्त्रसँग सम्बन्धित जे छ ‘ इजरायल त्यसलाई पूरै सखाप पार्ने पक्षमा छ।”

गोलन हाइट्समा इजरायल

इजरायली प्रधानमन्त्रीले आफ्ना सैनिकहरूले गोलन हाइट्सस्थित असैनिकीकृत मध्यवर्ती क्षेत्रमा नियन्त्रण कायम गरेको घोषणा गरेका छन्। इजरायली सेनाले उक्त क्षेत्रमा आफ्नो नियन्त्रणमा भएको सिरियाली भूमि बढाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उपयुक्त प्रबन्ध फेला नपरेसम्म त्यो अस्थायी रक्षात्मक उपस्थिति भएको बताउनुभएको छ।

“इजरायलले अक्टोबर ७ मा हमासले गरेको जस्तो आक्रमण सिरियाली क्षेत्रबाट हुन नदिन आफूले चाहेको बताएको छ”, एसओएएस यूनिभर्सिटी अफ लन्डनका प्राध्यापक गिल्बर्ट अश्करले भन्नुभयो, “तर यो अघि बढ्ने र अन्य फौजहरूलाई अधीनस्थ क्षेत्रको सीमानजिकै पुग्न नदिने अवसर हो।”

सिरियामा विद्रोही फौजहरू रहेका र इजरेलले भर्खरै कब्जा गरेको गोलन हाइट्सको भूभाग देखाउने नक्सा

सिरियामा विद्रोही फौजहरू रहेका र इजरेलले भर्खरै कब्जा गरेको गोलन हाइट्सको भूभाग देखाउने नक्सा

इजरायलले असैनिकीकृत मध्यवर्ती क्षेत्रलाई कब्जा गरेकोमा अरब देशहरूले निन्दा गरेका छन्। इजिप्टको विदेश मन्त्रालयले सोमवार सो कदम सिरियाली भूभागमाथिको कब्जा भएको भन्दै त्यो सन् १९७४ मा भएको सहमतिको ठाडो उल्लङ्घन भएको दाबी गरेको छ।

सिरियाली विवरणहरूमा इजरायलले भूमि कब्जा गरेको क्षेत्र बफर जोनभन्दा पर रहेको र त्यो दमास्कसभन्दा २५ किलोमिटर भित्रको भूभागसम्म पुगेको उल्लेख छ। तर इजरेली सैन्य स्रोतले त्यसलाई अस्वीकार गरेका छन्।

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले पहिलो पटक गोलन हाइट्सको मध्यवर्ती क्षेत्रभन्दा पर आफ्ना सैनिकहरूले काम गरिरहेको स्वीकार गरेका छन्। तर आईडीएफका प्रवक्ताका अनुसार इजरायली सेना धेरै भित्रसम्म प्रवेश गरेको छैन।

गोलन हाइट्स के हो, त्यहाँ कसको नियन्त्रण छ ?

गोलन हाइट्स दक्षिणपश्चिम सिरियामा अवस्थित एउटा पठार हो। उक्त भूभाग आधा शताब्दीभन्दा बढी समयदेखि इजरायली सेनाको अधीनमा छ।

सन् १९६७ मा भएको मध्यपूर्व युद्धमा सिरियाले इजरायलमाथि उक्त स्थानबाट गोलाबारी गरेको थियो।

तर इजरायलले द्रुत रूपमा सिरियाली सेनालाई पछि धकेल्दै १,२०० वर्ग किलोमिटर क्षेत्रमा नियन्त्रण कायम गर्‍यो। सिरियाले सन् १९७३ मा भएको ुयोम किपुरु भन्ने मध्यपूर्वको लडाइँमा उक्त भूभागलाई फिर्ता लिने प्रयास गर्‍यो तर विफल भयो।

दुवै पक्षले सन् १९७४ मा युद्धविराममा हस्ताक्षर गरे र त्यहाँस्थित युद्धविराम रेखामा सन् १९७४ यता राष्ट्रसङ्घीय पर्यवेक्षण बल तैनाथ छ।

सन् १९८१ मा इजरायलले उक्त भूभाग आफ्नो देशमा गाभेको थियो जसलाई अन्तर्राष्ट्रिय समुदायका धेरैले मान्यता दिएका थिए। तर सिरियाले गोलन हाइट्सबाट फिर्ता नभएसम्म आफूले इजरायलसँग शान्ति कायम गर्न नसक्ने बताउँदै आएको छ।

गोलन हाइट्समा बसेका अधिकांश अरब मूलका सिरियालीहरू सन् १९६७ कै युद्धमा त्यहाँबाट भागेका थिए।

उक्त क्षेत्रमा हाल ३० वटाभन्दा बढी इजरायली बस्तीहरू छन्। त्यहाँ झन्डै २०,००० मानिसको बसोबास छ। सन् १९६७ को युद्ध अन्त्य भएलगत्तै इजरायलले त्यहाँ निर्माणको काम थालेको थियो।

अन्तर्राष्ट्रिय कानुनअनुसार उक्त निर्माणलाई गैरकानुनी हुन्छ। तर इजरायलले त्यसलाई स्वीकार गर्दैन।

इजरायलीहरूसँगै त्यहाँ २०,००० जनाजति सिरियालीहरू पनि बस्छन्। गोलन हाइट्स इजरायल अधीनस्थ हुँदा पनि उनीहरू त्यहाँबाट भागेका थिएनन्।

इजरायलको चिन्ता कति उचित

 

नेतन्याहूले गोलन हाइट्सको मध्यवर्ती क्षेत्रमा आफ्नो सेनाले गरेको कब्जा अस्थायी भएको बताएको भए पनि त्यहाँबाट फौजको फिर्ती सिरियाको नयाँ सरकारको व्यवहारमा निर्भर हुने ठानिन्छ।

“यदि हामीले सिरियामा उदाइरहेका नयाँ शक्तिहरूसँग छिमेकी सम्बन्ध र शान्तिपूर्ण सम्बन्ध कायम राख्न सक्यौँ भने त्यो हाम्रो चाहना हो”,उहाँले भन्नुभयो, “तर यदि त्यसो भएन भने हामी इजरेल राज्यको रक्षा र इजरेलको सीमाको सुरक्षाका लागि आवश्यक सबै कुरा गछौँ।”

लन्डनस्थित थिङ्क-ट्याङ्क रोयल यूनाइटेड सर्भिसेज इन्स्टिट्यूटका डा एचए हेलीयरका अनुसार इजरायलले सिरियाभित्र रहेका शक्तिहरूले गोलन हाइट्समा घुसपैठ गर्ने ठानेको हुन सक्ने र त्यही भएर त्यस्तो मौका नदिन ऊ आफैँ अघि बढेको हुन सक्ने बताउनुभयो।

“तर विगतमा इजरायलले सुरक्षाको कदम भनेर गोलन हाइट्स कब्जा गर्‍यो र त्यसपछि किल्ला बनायो। उसले पुनः त्यस्तो गर्न सक्छ।”

इजरायली विदेशमन्त्री गिडन सारले आफ्ना नागरिकहरूको सुरक्षा गर्ने एकमात्र उद्देश्यले सिरियाली सेनाका शिविरहरूमा हमला गरिएको बताउनुभयो।

उहाँले बाँकी रासायनिक अस्त्र वा लामो दूरीका क्षेप्यास्त्र वा रकेट उग्रवादीहरूको हातमा नपरोस् भन्नका लागि आफूहरूले त्यस्तो गरेको बताए।

तर प्राध्यापक गिल्बर्ट अश्कर सिरियामा रासायनिक अस्त्र व्यापक नभएको र दुई(तीन ठाउँमा मात्रै त्यसको भण्डार सीमित रहेको बताउँनुहुन्छ।

उहाँले भन्नुभयो, “तर ३०० वटाभन्दा धेरै हवाई हमलाहरू भएका छन्, तपाईँ त्यो देशलाई निकै कमजोर बनाउँदै हुनुहुन्छ।”

अश्करका अनुसार इजरायलले बशर अल-असदलाई परिचित दुष्टका रूपमा लिने गरेको थियो तर अब के हुन्छ भन्नेबारे अस्पष्ट छ।

“उनीहरूले लिबियाजस्तै विभिन्न युद्ध गरिरहेका गुटहरूमा सिरिया विभाजित हुने अपेक्षा गरेका छन्। त्यसमध्ये कुनै गुटले इजरेलसँग शत्रुता राख्न सक्ने डर उनीहरूको छ।उनीहरू त्यस्ता गुटले सिरियाली सेनाको अस्त्र प्रयोग गर्न नसकून् भन्ने चाहन्छन्।”

Share Now