काठमाडौ., ५ जेठ । २००७ सालको जनक्रान्तिका योद्धा तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको आज ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ ।
विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक हुनुभएका उहाँ राजदूत पनि हुनुहुन्थ्यो ।
प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत तथा इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो चाइना (लाओस, कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गर्नुभएका बराल राष्ट्रिय पञ्चायतमा मनोनित सांसद भएका थिए। सांसदको रूपमा सेवा समाप्त गरेपछि उहाले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत हुनुभएको थियो।
बराल लोक सेवा आयोगबाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुनुहुन्थ्यो।
साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुने भएतापनि नेपाल प्रहरीको इतिहासमा ६ वर्षसम्म प्रहरी महानिरिक्षक जिम्मेवारी वहन गर्ने दुई जना भाग्यमानी मध्ये उहाँ र रोमबहादुर थापा पर्नुहुन्छ ।
आफ्नो कार्यकालमा प्रहरीमा गाँस(रासन), बास (भवन) र कपास (पोशाक)को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउन सफल भएकाले उहाँलाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ।
उनी बर्माका लागि नेपाली राजदूत रहँदा बर्मामा अधिकारविहीन शरणार्थीसरह बसिरहेका नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्नुका साथै बर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको सुरूवात गराउनुभएको थियो।
राणा शासन अन्त गर्नका लागि नेपाली कांग्रेसद्धारा वि.स. २००७ असोज ९, १० र ११ मा भारतको बिहारस्थित बैरगनियामा आयोजित बैरगनिया सम्मेलनमा बिए दोस्रो वर्षको छाडेर सहभागी हुनुभएका बराल बुटवलमा प्रजातन्त्रसम्बन्धी पर्चा बाँड्दा राणा शासकको पक्राउमा पर्नुभएको थियो ।
देहरादूनमा रहेका गोर्खा किल्लाका फौजीसँग राणाहरुको निरंकुश शासनविरुद्ध क्रान्ति गर्न लागेको भन्दै गोलीहरु जम्मा गर्नुभएका बराले देहेरादुनको गोर्खा पल्टनबाट प्राप्त कयौॅ गोली बारूदका बाकसहरू गोरखपुर ल्याउने जिम्मेवारी पाउनुभएको थियो ।
खड्गबहादुर गुरूङको नेतृत्वमा मुक्ति सेनाको एक टोलीले बरालसहित करिब १५० लडाकुहरूका साथ भैरहवाका बडाहाकिमलाई सफलतापूर्वक आक्रमण गरेको थियो ।
आफ्ना पिता बहादुरसिंह बरालको बाह्रबोर बन्दुक चोरी सात सालको क्रान्तिमा भाग लिनुभएका बराल २००७ सालमा भएको दिल्ली संझौतामा राणाहरुलाई नै प्रधानमन्त्री स्वीकारेपछि त्यसको विरुद्ध उभिदै के.आई.सिहकोसाथ लागेर शसस्त्र क्रान्ति जारी राख्ने आन्दोलनमा पनि सरिक हुनुभयो । यसक्रममा उहाँ हतियार नबिसाएकाले ३ महिनासम्म कारागारमा बस्नुभएको थियो।
उहाँ वि.सं. २०१३ सालमा लोक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको प्रथम प्रहरी निरीक्षकको रूपमा नियुक्त हुुनुभएको थियो ।