अबुधाबी (संयुक्त अरब इमिरेट्स), ८ मङ्सिरः आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो ।
संयुक्त अरब इमिरेट्स(युएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवरद्धधन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताउनुभयो । आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सक्दो योगदान गर्न आफू प्रतिबद्ध रहेको उहाँले दोहोर्याउनुभयो ।
त्यस अवसरमा नेपालका उद्योगी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली सङ्घ, युएई,नेपाल विजनेस काउन्सिल युएई तथा यूएईमा रहेका उद्योगी–व्यवसायीबीच नेपाल र युएईबीचको नेपालको व्यापार घाटालाई कम गर्दै युएईका बजारमा नेपाली उत्पादनलाई सहज रूपमा स्थापित गराउने विषयमा गहन छलफल भएको उक्त दूतावासले जनाएको छ ।
नेपालका सामग्री उक्त देशमा निर्वाध पुर्याउन विद्यमान चुनौती र भविष्यमा दुई देशबीच अपनाउनु पर्ने कानुनी तथा नीतिगत उपायका बारेमा सहभागीले सुझाव दिएका थिए ।
यसैबीच, मङ्सिर २ देखि ५ गतेसम्म दुबईमा आयोजना भएको ‘मिडल इष्ट अर्ग्यानिक एण्ड नेचुरल प्रडक्ट एक्स्पो’मा नेपालका १२ कक्षमार्फत नेपाली उत्पादन प्रवर्द्धन गरिएको थियो ।
मेलामा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल निर्यात व्यावसायी महासङ्घका प्रतिनिधि सहभागी थिए । विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त मेलामा नेपाल पहिलोपटक सहभागी भएको हो ।
–––