Prakash Adhikari September 16, 2024
चितवन, ३१ भदौ : काठमाडौँ विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा आजदेखि तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन सुरु भएको छ ।
सम्मेलनको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बासस्थान नवप्रवर्द्धनका लागि सबै तह एक भएर लाग्नुपर्ने बताउनुभयो । भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले बासस्थान व्यवस्थापनका लागि फोहोर व्यवस्थापन अनिवार्य रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सहरी क्षेत्रमा बस्ती बाक्लिदै जाँदा व्यवस्थापनमा समस्या देखिने गरेको छ । यसलाई सबै तहको समन्वयबाट व्यवस्थापन गर्न जरुरी छ ।” सरकारले बासस्थान नवप्रवर्द्धनका लागि सक्रियताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।
पूर्वमन्त्री गणेश शाहले बासस्थान नवप्रवर्द्धनका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका युवालाई साथमा लिएर वातावरणमा सुधार ल्याउन आवश्यक छ ।” आमनागरिकलाई स्वस्थ कसरी बनाउन सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पूण्यप्रसाद रेग्मी, विश्वविद्यालयकी सेवा आयोगको अध्यक्ष कल्याणी मिश्र त्रिपाठी, विश्वविद्यालयकी रजिष्टार प्राडा शारदा थपलिया, काठमाडौँ विश्वविद्यालयका प्रध्यापक डा भिमप्रसाद श्रेष्ठले बासस्थान नवप्रवर्द्धनका लागि सबै तह र सरोकारवालाको सहभागीता रहनुपर्ने बताउनुभयो ।
सम्मेलनमा खाद्य, सरसफाइ, वातावरणीय स्थिरता, नवीन फोहर व्यवस्थापनजस्ता विषयमा छलफल गरिनेछ । छलफलपछि भरतपुर घोषणापत्र जारी गर्दै मङ्गलबार  सम्मेलन सम्पन्न हुने कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलले जानकारी दिनुभयो । सम्मेलनमा देशका छ जिल्लाका पालिका प्रमुख र उपप्रमुखको सहभागिता रहेको उहाँले बताउनुभयो । पालिकाको ८० प्रतिशतभन्दा बढी फोहर डम्पिङ साइटमा जाने गरेकोमा त्यसलाई कम गराउन युवालाई प्रविधिको उद्यमशीलतामा लैजानुपर्नेमा जोड दिएको छ ।
फोहरको व्यवस्थापन गर्न युवालाई उद्यमशील बनाउने, आर्थिक उपार्जनसँग जोड्नेजस्ता विषयमा केन्द्रित रहेर गरिएको सम्मेलनमा १५ भन्दा बढि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेदरल्याण्ड, विश्व बैंकका प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
कार्यक्रममा खाद्य सुरक्षा, सरसफाइ, वातावरण व्यवस्थापनमा रहेका चुनौतीको समाधानजस्ता विषयमा छलफल हुने, ज्ञानको आदानप्रदान, नवीन प्रविधिको आदानप्रदान गरेर काम गर्न सके फोहर व्यवस्थापनमा समस्या नहुने वातावरणविद् इञ्जिनियर आशुतोष तिवारीले बताउनुभयो ।
देशका दुई विश्वविद्यालयका बीचमा फोहर व्यवस्थापन गरेर ऊर्जामा कसरी बदल्न सकिन्छ । त्यसले वातावरणमा कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने बारेमा महत्त्वपूर्ण छलफलपछि त्यहाँको निष्कर्षलाई घोषणापत्रमा समावेश गरिने उहाँले बताउनुभयो ।
Share Now