Prakash Adhikari April 14, 2018

दमास्कस(सिरिया),१ बैशाख (बीबीसी) । सिरियाको सरकारी सञ्चारमाध्यम सानाले शनिबार होम्स प्रान्तस्थित सैन्य अखडामा प्रहार भएको क्षेप्यास्त्रलाई विफल पारिएको र अन्यत्रै पठाइदिएको जनाएको छ।

यद्यपि तीनजना सर्वसाधारण भने घाइते भएको उक्त सञ्चारमाध्यमले जनाएको छ।

यसअघि अमेरिकी सेनाले आफूहरूले होम्स सहरको पश्चिममा रहेको रासायनिक अस्त्र भण्डारणलाई निसाना बनाएको बताएको छ।

यद्यपि सरकारी टेलिभिजनले हमलाले उत्तरी दमास्कसको बर्जेहस्थित साइन्टिफिक स्टडिज एण्ड रिसर्च सेन्टर (एसएसआरसी) को शाखामा भौतिक क्षति मात्रै पुर्याएको जनाएको छ।

क्षति
खबरका अनुसार तालिम केन्द्र रहेको भवन र प्रयोगशालाहरूमा क्षति पुगेको छ।

एउटा पश्चिमा गुप्तचर संस्थाले बीबीसीलाई गत वर्ष उक्त एसएसआरसी केन्द्र लडाईँमा प्रयोग हुने रासायनिक अस्त्रहरू बनाउन प्रयोग भइरहेको बताएको थियो।

उक्त आरोपलाई सिरिया सरकारले भने पटकपटक अस्वीकार गर्दै आएको छ।

सिरियाका तीन ठाउँमा हवाई हमला

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट सिरियाको अवस्थाबारे राष्ट्रलाई सम्बोधन गर्दै सिरियामा हमला जारी रहेको बताएका छन्।

ट्रम्पले सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको बताएका छन्।

गत हप्ता सिरियाली नगर डुमामा गरिएको आरोपित रासायनिक हमलाको जवाफमा हवाई आक्रमण गरिएको हो।

आफ्नो सम्बोधनमा ट्रम्पले भने, “फ्रान्स र ब्रिटेनका सशस्त्र फौजहरूको संलग्नतासहित एउटा संयुक्त कारबाही जारी छ।”

निसाना


अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्।

सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्रहरू खसालिदिएको जनाएको छ।

सिरियाली सरकारको मुख्य साझेदार रुसले अमेरिकाका लागि आफ्ना राजदूतमार्फत् विज्ञप्ति जारी गराउँदै ‘यस्ता कदमप्रति प्रतिक्रिया नजनाइ नबस्ने’ जनाएको छ।

खतरा
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले ‘फौज प्रयोग गर्नुबाहेक अरू कुनै व्यवहारिक विकल्प नभएको’ भन्दै कारबाहीमा ब्रिटेन संलग्न भएको पुष्टि गरेकी छन्।

तर उक्त कारबाही ‘सत्ता परिवर्तन’सँग सम्बन्धित नरहेको उनले स्पष्ट पारिन्।

हमलाले सिरियाली जनतालाई रासायनिक अस्त्रहरूबाट जोगाउने र त्यस्ता अस्त्रको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यको उल्लङ्घन हुनबाट रोक्ने प्रधानमन्त्री मेले उल्लेख गरिन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले रासायनिक अस्त्रशरू सामूहिक सुरक्षाका लागि खतरा भएको बताए।

उनले सिरियाली सरकारका गतिविधिहरूले फ्रान्सले तोकेको लक्ष्मणरेखालाई नाघेको टिप्पणी गरे।

Share Now

Leave a comment.