Prakash Adhikari August 25, 2024

क्वाललम्पुर(मलेशिया), ९ भाद्र । एएफसी महिला च्याम्पियनसिप २०२४ अन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपालको एपीएफ क्लब आज उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध खेल्दै छ।

मलेसियाको लिकास स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने समय तालिका रहेको छ।

नेपाली टोली अनिता बस्नेतको कप्तानीमा मैदान उत्रनेछ। एपीएफले आज नसाफलाई हराए समूह चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।

खेलमा एपीएफकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भने हुने छैनन्। उनी व्यावसायिक लिगका लागि हाल फ्रान्समा छिन्।

एपीएफले राष्ट्रिय टोलीमा रहेकी नेपाल पुलिस क्लबकी गोलरक्षक उषा नाथ र डिफेन्डर अमृता जैसीलाई भित्र्याएको छ। यस्तै त्रिभुवन आर्मी क्लबका अमिशा कार्की र दीपा शाहीलाई समेटेर टोलीलाई बलियो बनाइएको छ।

यस्तै साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा घाइते भएकी मिडफिल्डर प्रिती राईले यही च्याम्पियनसिपबाट पुनरागमन गर्दैछिन्।
नेपाली टोली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको छ।

एपीएफले महिला लिग च्याम्पियनसिपको विजेताको हैसियतमा च्याम्पियनसिप खेल्न लागेको हो।

एपीएफले बुधबार मलेसियाको आयोजक सबाहविरुद्ध खेल्ने छ। एपीएफ यी दुई टोलीलाई हराउँदै समूह चरणमा स्थान बनाउने रणनीतिमा छ।

च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुँदै छन्। यीमध्ये सन् २०२४ को फिफा वरियताको शीर्ष आठमा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाइसकेका छन्।

बाँकी १४ देशका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्ने छ। ती क्लबलाई ४ समूहमा विभाजन गरिएको छ।

यी चार समूहका विजेताले च्याम्पियन्सिपको समूह चरणमा स्थान बनाउने छन्।

प्रारम्भिक चरणका खेल आजदेखि शनिबारसम्म चल्नेछ।(स्रोतः नेपालखबर)

Share Now