Prakash Adhikari August 27, 2024

काठमाडौँ, ११ भदौः ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ।

उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणका क्रममा सोमबार यहाँ आउनुभएको थियो ।

त्यस्तै परराष्ट्रमन्त्री डा राणा र विदेशमन्त्री अल्बुसैदीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । उहाँहरूबीच नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसै वार्तामा हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

भ्रमणका दौरान विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलसँग  भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गर्नुभएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार यहाँ आउनुभएका विदेशमन्त्री अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भइ सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि ओमनबाट सहयोगको अपेक्षा गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा काठमाडौँमा ओमानको राजदूतावास स्थापना गर्नु दुवै देशका लागि उपयुक्त हुने उल्लेख गर्नुभयो । त्यस्तै उहाँंले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्दत मिल्ने धारणा व्यक्त गर्नुभयो ।

सो भेटमा ओमनका विदेशमन्त्री अल्बुसइदीले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताउनुभएको थियो ।

विदेशमन्त्री अल्बुसइदीले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने नेपालीहरूले ओमानको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो ।

त्यस्तै परराष्ट्रमन्त्री डा राणा र विदेशमन्त्री अल्बुसैदीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । उहाँहरूबीच नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसै वार्तामा हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

–––

Share Now