Prakash Adhikari August 31, 2024

काठमाडौं, १५ भाद्र । पेरिसमा भैरहेको पारालिम्पिकमा कास्य पदक विजेता नेपाली खेलाडी पलेशा गोबर्धनलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के.पी. शर्मा ओलीले बधाई दिनुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा ऐतिहासिक  कास्य पदक विजेता पलेशा गोवर्धनलाई  समाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो ।

उहाँले भन्नुभएको छ, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो । ”

पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गए राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक जित्नुभएको हो । पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

हिजै भएको पहिलो चरणको खेलमा उहाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित हुनुभयो । दोस्रो चरणमा पराजित भएको कारण उहाँले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्नुभएको थियो ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उहाँले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट हुनुभएको थियो । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

प्रधानमन्त्रीद्वारा बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिनुुभएको हो । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

Share Now