Prakash Adhikari September 1, 2024

 

तेलअभिभ(इजरायल), १६ भाद्र (बीबीसी) । इजरायली सेनाले गाजाको रफाह सहरमा एउटा सुरुङमा फेला परेका छ वटा शव अक्टोबर ७ मा हमासले आक्रमण गर्दा बन्धक बनाएकाहरूको रहेको जनाएको छ।

सेनाले शव फेला परेका बन्धकहरूको नाम सार्वजनिक गर्दै त्यसमध्ये पाँचजना इजरायली नागरिक रहेको उल्लेख गरेको छ।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो ।

गाटलाई दक्षिण इजरायली किब्बुट्ज समुदायको बिरीबाट लगिएको थियो भने बाँकी २३ देखि ३२ वर्ष उमेर समूहका पाँच जनालाई गाजाको सीमा नजिकैको एक सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले एक जना मृतक हेर्स गोल्डबर्ग(पोलिन अमेरिकी नागरिक रहेको बताउनुभएको छ।

“म शोकाकुल र क्रुद्ध भएको छु,” बाइडनले भन्नुभयो । पोलिनलाई हमासको एक भिडियोमा हात काटिएको अवस्थामा देखाइएको थियो।

एक विज्ञप्तिमा बाइडनले उक्त मृत्युलाई दुखद र निन्दनीय भन्दै आफ्नो अपराधका लागि हमासका नेताहरूले मूल्य चुकाउनुपर्ने बताउनुभएको छ।

बेपत्ता परिवारहरूको समूह ुद मिसिङ फ्यामिलिज फोरमुले इजरेली प्रधानमन्त्री नेतन्याहूलाई बाँकी बन्धकहरूको रिहाइका लागि युद्धविराम सहमति जनाउन पुनः अनुरोध गरेको छ।

इजरायली सेनाले के भन्यो ?

आइतबार बिहान जारी गरिएको विज्ञप्तिमा इजरेल डिफेन्स फोर्सेस (आइडिएफ)ले ती शवहरू इजरायली भूभागमा ‘फिर्ता गरिएको’ जनाएको छ।

“उनीहरू सबैलाई अक्टोबर ७ मा बन्धक बनाइएको थियो र हमास आतङ्कवादी सङ्गठनले गाजा स्ट्रीपमा हत्या गरिदिएको छ।”

इजरायली सेनाले ती मृतकका परिवारलाई जानकारी गराइसकिएको बताएको छ।

इजरायल डिफेन्स फोर्सेजका एकजना प्रवक्ता ड्यान्यल हेगारीले आफ्ना फौजहरू पुग्नु केही समयअघि मात्रै हमासले तिनीहरूलाई मारिदिएको बताएका छन्।

बन्धकका परिवारहरूले इजरेली सरकारले युद्धविरामको लागि सहमति जनाएको भए यस्तो परिस्थिति नआउने धारणा राखेका छन्।

राष्ट्रपति बाइडनले ‘हेर्स अक्टोबर ७ मा इजरेलमा भएको शान्तिका लागि साङ्गीतिक समारोहमा क्रूरतापूर्वक आक्रमण गरिएका निर्दोषहरूमध्ये भएको’ जनाउनुभएको छ।

उहाँले भन्नुभएको छ “हमासको बर्बर नरसंहारको समयमा साथीहरू र अपरिचितहरूलाई सघाउने क्रममा उनले आफ्नो हात गुमाए। उनी बल्ल २३ वर्ष पुगेका थिए। उनले विश्व घुम्ने योजना बनाएका थिए।”

“मैले उनका बुबा आमा जन र रेचललाई चिन्न पाएको छु। यस्तो अकल्पनीय परिस्थिति सामना गर्नुपर्दा पनि उनीहरू साहसी, ज्ञानी र सहनशील रहे।”

अझै ९७ जना हमास नियन्त्रणमा

इजरायली सेनाले दक्षिण इजरायलमा अक्टोबर ७ मा हमासले गरेको अभूतपूर्व आक्रमणको प्रतिक्रिया स्वरूप उक्त समूहलाई समाप्त पार्न गाजामा सैनिक कारबाही गरिरहेको छ।

हमासले गरेको आक्रमणमा इजरायलमा करिब १ हजार २ सय जनाको ज्यान गएको थियो। उक्त समूहले अन्य २ सय ५१ जनालाई बन्धक बनाएको थियो।

त्यसयता गाजामा ४० हजार ५ सय ३० जना मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिका, इजिप्ट र कतारका मध्यस्तकर्ताहरूले हमासले अझै बन्धक बनाएका ९७ जनाको रिहाइका लागि इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरू सट्टापट्टा गर्न सकिने विषय समेटिएको एउटा युद्धविराम सम्झौतालाई टुङ्गोमा पुर्‍याउने प्रयास गरिरहेका छन्।

हमासको नियन्त्रणमा अझै रहेको भनिएका ९७ बन्धकमध्ये कम्तीमा २७ जना मारिएको ठानिन्छ।

हमासले बन्धक बनाएका व्यक्तिको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि छ। जोशीको अवस्था अझै पनि अज्ञात रहेको छ।

उहाँको रिहाइको ‘सम्भव भएसम्म सबै कूटनीतिक माध्यमहरूबाट’ पहल गरिरहेको नेपाली अधिकारीहरूले बताउने गरेका छन्।

हमासले अक्टोबर ७ मा भएको आक्रमणका क्रममा बन्धक बनाएका २ सय ५१ जनामध्ये ९७ जना गाजामा बन्धक बनाइएका थिए जसमध्ये करिब ४० जनाको हत्या भइसकेको इजरायली सेनाले जनाएको छ ।

Share Now