काठमाडौं, १८ भाद्र । नेपालमा खेर गइरहेको जैविक इन्धन (बायोमास) लाई उपयोग गरेर आर्थिक विकासलाई टेवा दिनसक्ने ठूलो सम्भावना देखिएको छ।
यसको उचित व्यवस्थापन र सदुपयोग गर्न सकिएमा अर्थतन्त्रलाई महत्वपूर्ण रूपमा लाभ दिन सक्छ। तर, हाल नेपालमा अधिकांश बायोमास परम्परागत रूपमा भान्साको इन्धन र चौपायाको आहाराको रुपमा मात्र प्रयोग हुँदै आएको छ। नगरपालिकाको फोहोरलाई खुला ठाउँमा थुपार्ने र जलाउने प्रचलनले पारिस्थितिकी प्रणालीलाई गम्भीर असर पारिरहेको छ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सागर काफ्लेको नेतृत्वमा नेपाल, जर्मनी, नेदरल्यान्ड्स र अमेरिकाका अन्वेषकहरूले नेपालमा फोहोर बायोमासको सम्भावनालाई उजागर गर्दै त्यसलाई बहुमूल्य वस्तुमा परिणत गर्ने अवसर र चुनौतीहरूलाई प्रस्ट पारेका छन्।
यो अध्ययन हालै रिजनल इन्भाइरोमेण्टल चेन्ज जर्नलमा प्रकाशित भएको छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक र हाल अमेरिकाको अबर्न विश्वविद्यालयमा पीएचडी विद्यार्थी रहेका काफ्लेका भन्नुहुन्छ, “हाम्रो अध्ययनले नेपालमा कृषि, सहरी, पशुपालन, चराचुरुङ्गी र मानव गतिविधिबाट हरेक वर्ष करिब ८ करोड ९० लाख टन बायोमास निस्कने सम्भावना देखाएको छ।” उहाँले थप्नुभयो, “हामीले यस्तो बायोमास नेपालको जिल्ला, प्रदेश तथा भौगोलिक क्षत्र गत तहमा सम्भावनाका चुनौतिको अध्ययान गरेका छौं।”
भौगोलिक क्षत्रको आधारमा विशेषगरी तराई क्षेत्र, प्रादेशिक हिसाबमा कोशी प्रदेशमा र जिल्लाको तहमा मोरङ मा बायोमासको अपार सम्भावना रहेको पनि अध्ययनले देखाएको छ। अध्ययनका सह(लेखक तथा अमेरिकाको अबर्न विश्वविद्यालयका प्रा.डा. सुशील अधिकारीले फोहोर जैविक पदार्थबाट इन्धन, पशु आहारा, मल तथा बायोचार उत्पादन गर्ने सम्भावनालाई प्रकाश पार्दै भन्नुभयो, “बायोमासबाट उत्पादन हुने प्यालेट्स र ब्रिकेटले इँटाभट्टा र सिमेन्ट उद्योगमा कोइला प्रतिस्थापन गर्न सक्छ, जसले देशको कार्बन उत्सर्जनलाई ५२५ सम्म घटाउन र ऊर्जा खपतको १२५ सम्म पूरा गर्न मद्दत पुर्याउँछ।” अधिकारीले खेर गइरहेको बालीको अवशेषबाट फिड ब्लक बनाए पशुपालन उद्योगलाई पनि फाइदा पुर्याउन सकिने बताउनुभयो।
साथै, बायोमासबाट उत्पादन गरिने बायोग्यासले आयातित एलपीजी ग्यासको आवश्यकता घटाउन सक्ने र बायोग्यासका साथ् उत्पादन हुने पोषक तत्वयुक्त जैविक मलको प्रयोग ले रसायेनिक मलको प्रयोग कम गर्न सकिने पनि अनुसन्धानदाताहरुले बताएका छन्। नेदरल्याण्ड स्थित ग्रोनिङ्गन विश्वविद्यालयका उप(प्राध्यापक डा. प्रज्वल प्रधानले अध्ययनका नीतिगत उपयोगिता बारेमा जोड दिँदै भन्नुभएको छ, “देशभरि बायोमासको सम्भावना र उपलब्धताका स्थानविशेष तथ्याङ्कहरूको अभावले योजनामा समस्या आएको छ। साथै, भौगोलिक जटिलताका कारण कच्चा पदार्थ र उत्पादनको ढुवानीमा चुनौतीहरू छन्।”
उहाँले लगानी र बजारमा अस्थिरता, अपर्याप्त नीति र कमजोर अन्तर कार्यालय समन्वयले बायोमासमा आधारित उद्योगहरूलाई प्रवर्द्धन गर्न कठिनाइ भएको बताउनुभयो। साथै उहाँले नेपालमा जैविक फोहोरलाई सदुपयोग गर्न यी चुनौतीहरूलाई समाधान गर्नु अति आवश्यक रहेको उल्लेख गर्नुभयो।