Prakash Adhikari September 10, 2024

 

काठमाडौं, २५ भाद्र । आईसीसी विश्वकप लिग २ को छनोट चरणका खेल खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीलाई आज नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ ।

नेपाली राष्ट्रिय टिम आज साँझ क्यानडाका लागि प्रस्थान गर्ने भएको छ ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा क्यानडा, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । नेपालको तेस्रो खेलमा असोज ६ गते क्यानडासंग रहेको छ भने अन्तिम तथा चौथो खेल असोज ८ गते ओमानसंग रहेको छ । क्यानडाको ओन्टारियोमा हुने सबै खेलहरु नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछन् ।

क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडिआई सिरिज सकिएको दुई दिन पछि सोहि टोलीबीचमा टि २० आई सिरिज हुने जानकारी दिएको छ। सो सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

टि २० आई सिरिजको पहिलो खेलमा नेपालले असोज १२ गते क्यानडाको सामना गर्ने छ । उसले दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्ने छ । नेपालले तेस्रो खेल असोज १५ गते क्यानडासँग र चौथो खेल असोज १६ गते ओमानसँग खेल्नेछ ।

टि २० सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने छ । क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा सो खेल राखिएको छ ।त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जाने छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी भने अहिले क्यानडामा नै छन् ।

आईसीसी विश्वकप लिग २ खेल्न क्यानडा र अमेरिका जान लागेको राष्ट्रिय क्रिकेट टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले‌ बिदाइ गरेका थिए ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली क्रिकेट टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के।सी।, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भूर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन्।

Share Now