काठमाडौं, २६ भाद्र । नयाँ अर्थमन्त्री आएपछि लगातार बढेर ३००० बिन्दुमाथि पुगेको धितोपत्र बजार परिसूचक निरन्तर छैठौँ कारोबार दिन घटेर बन्द भएको छ। अघिल्लो साताको बुधबारदेखि घट्न थालेको धितापत्र बजार परिसूचक बुधबार बजार बन्द हुँदासम्म बढ्न सकेन ।
बुधबार धितोपत्र बजार परिसूचक २२.७३ अंक घटेर २६१०.२१ विन्दुमा पुगेको छ। यस दिन ३ सय १७ स्टकको १ करोड ५४ लाख २८ हजार कित्ता शेयर खरिदबिक्रीबाट ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
घटेको बजारमा यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २१८ रुपैयाँ ५० पैसा बढेर २ हजार ४०३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ग्रिनलाइफ हाइड्रोपावरको १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
बुधबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन फाइनान्स, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
बजारको प्रवृत्ति हेर्दा बढ्दै गएको बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरुलाई अत्याएर तिनीहरुले किनेको शेयर सस्तोमा हत्याउन बजारका पुराना ठूला खेलाडीहरुले मिलेमतोमा काम गरेको आशंका छ । यद्यपि अन लाइन टेडिड.को सुविधा र मार्केट डेप्थ हेर्ने सुविधाले सीमित खेलाडीको हातमा मात्र बजार नियन्त्रित छैन् । आफ्नै गतिमा चलायमान हुँदा शेयर बजारले उकालो यात्रा तय गर्ने आशा र संभावना मरेको भने छैन ।