Prakash Adhikari September 25, 2024

 

पोखरा(कास्की), ९ असोज । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सो कुरा बताउनुभएको हो ।

उहाँले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको देशमा मात्रै आम नागरिक खुसी हुने बताउनुभयो । कोषले प्रदान गर्दै आएको नागरिक पेन्सन योजना लगायतका अन्य कार्यक्रमले मात्रै सबै नागरिकलाई तनावरहित बनाउन सहयोग पु¥याउने उहाँको भनाइ थियो । भविष्यमा आफूसँग केही पनि हुन नसक्ने अवस्था आउन नदिनको लागि आम नागरिक, निजी क्षेत्र, संगठित क्षेत्रमा कार्यरत सबैलाई उहाँले कोेषले सञ्चालन गरेको नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गर्नुभयो ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कोषसँग सहकार्य गर्न निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राज्यले एउटै प्रकृतिको ३ वटा कोष सञ्चालन गरेको हुँदा कसमा जाने भन्ने अवस्था आएको भन्दै त्यसलाई लगानी कोषले स्पष्ट बनाउनु पर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएकाहरुले कोषले सञ्चालन गरिरहेका कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकांक योजनाका बारेमा प्रश्न राखेका थिए ।

त्यस्ता प्रश्नहरुको विशेष अतिथिको रूपमा कोषको का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठले सम्बोधन गर्दै कोषले सञ्चालन गरिरहेको कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष किन स्थापना भएको भन्ने प्रश्नमा यी तीनै वटा संस्था छुट्टाछुट्टै प्रकृतिको भएको र संस्था स्थापना गराउने कार्य नेपाल सरकराले गरेको हुँदा आवश्यकता देखेर नै संस्था स्थापना भएको उहाँले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमको सम्बन्धमा राखिएको प्रश्नमा कोषले अहिले उक्त कार्यक्रम सञ्चालन नगरेको उहाँले स्प्ष्ट पार्नुभयो।

राष्ट्र सेवक कर्मचारीहरुको बीमा कार्यक्रम बारे कोषले २०७५ सालसम्म मात्रै बीमाको कार्यक्रम सञ्चालन गरेको बताउँदै त्यसपछि नेपाल सरकारको निर्णय अनुसार कोषले त्यस्ता कर्मचारीहरुको रकम संकलनको कार्य मात्रै गरिरहेको र त्यसको भुक्तानी राष्ट्रिय जीवन बीमा कम्पनीले गर्ने गरेको जानकारी उहाँले दिनुभयो । कोषले संकलन गरेको रकम प्रत्येक वर्षको साउन ७ गतेभित्र राष्ट्रिय जीवन बिमा कम्पनीलाई पठाउने व्यवस्था गरेको उहाँको भनाइ थियो ।

उपदान कोषमा १५ प्रतिशत कर लिएको सम्बन्धमा २०७५ सालसम्म कोषले ५ प्रतिशत मात्रै कर कट्टी गर्ने गरेकोमा त्यसपछि सरकारले १५ प्रतिशत कर लिने व्यवस्था गरे पनि अदालतले ५ प्रतिशत मात्रै कर कट्टी गर्न दिएको आदेशको पालाना कोषले गरिरहेको जानकारी नायव कार्यकारी निर्देशक श्रेष्ठले दिनुभयो ।

कार्यक्रममा शाखा कार्यालय पोखराका प्रमुख नवराज गौतमले शाखाले सञ्चालन गरिररहेका सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो । उहाँले कोषले सेवाग्राहीलाई दिने ब्याजको अक्तिरिक्त प्रतिफल दिने एवं दुर्घटना बीमा समेत उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले सहभागीहरुलाई घर, जग्गा अपार्टमेन्ट खरिद गर्न र घर बनाउनको लागि कोषले लगानी गरिरहेको जानकारी दिनुभएको थियो ।

Share Now