बेरुत(लेबनान), १५ असोज । इजरोयलले आफूले दक्षिण लेबनानका सीमित र निश्चित स्थानमा स्थल कारबाही सुरु गरेको जनाएको छ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले इरानबाट समर्थनप्राप्त लेबनानी लडाकु समूह हिज्बुल्लाहका भौतिक संरचनाहरूलाई लक्ष्य बनाउँदै अहिले सैन्य कारबाही भइरहेको जनाएको छ। आईडीएफका अनुसार ती संरचनाबाट उत्तरी इजरायलस्थित इजरायली समुदायहरूलाई तत्काल खतरा छ।
हिज्बुल्लाहका सहायक प्रमुखले आफ्नो समूह लेबनानभित्र इजरायलले गर्ने जस्तोसुकै सैन्य कारबाहीको प्रतिकार गर्न तयार रहेको बताएका छन्।
लेबनानको राष्ट्रिय सेनाले आफ्नो दक्षिणी सीमाबाट आफ्ना सैनिकहरू पाँच किलोमिटर उत्तरतर्फ सार्न थालेको बताएको एक सरकारी सूत्रलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ।
इजरायल के भन्छ?
इजरायलका रक्षामन्त्री योआभ गालान्टले यसअघि इजरायली सेना लेबनानी भूमिमा प्रवेश गर्न तयार रहेको सङ्केत गर्नुभएको थियो। दुई देशबीचको सीमानजिकै परिचालित सैनिकहरूलाई सम्बोधन गर्दै उहाँले इजरायल जल, स्थल र आकाश तीनवटै मोर्चाबाट हिज्बुल्लाहमाथि कारबाही गर्न तयार रहेको बताउनुभएको थियो।
मङ्गलवार बिहानै सामाजिक सञ्जाल एक्समा प्रेषित एउटा विज्ञप्तिमा आईडीएफले आफ्ना सैनिकहरू सीमा नाघेर लेबनानी भूमिमा प्रवेश गरेको जनाएको छ।
त्यसअघि उत्तरी इजरायलका सीमावर्ती क्षेत्रमा ट्याङ्क र अन्य बख्तरबन्द गाडीहरू भेला भएका थिए।
सोमवार इजरायली रक्षामन्त्रीले हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको हत्या एउटा महत्त्वपूर्ण कदम पनि भए पनि त्यो सबै कुरा हैन भन्नुभएको थियो।
“गर्नुपर्ने सबै कुरा गरिने छ। अनि हामी जल, स्थल र आकाशबाट सबै बल प्रयोग गर्ने छौँ।”
इजरायल सरकारले आफ्ना हजारौँ नागरिकलाई आफ्ना बस्तीमा सुरक्षित फर्किन पाउने अवस्था सिर्जना गर्ने वाचा गरेको छ। गाजामा युद्ध सुरु भएपछि हिज्बुल्लाहले इजरायलभित्र लेबनानतिरबाट रकेट प्रहार गर्दै आएको थियो।
विभिन्न देशले हिज्बुल्लाहलाई आतङ्कवादीू सङ्गठन मान्दै आएका छन्। उक्त समूहले इजरेली सीमानजिकैको भूभागमा सुरुङ, बङ्कर र सैन्य संरचनाहरू बनाएको छ।
सङ्घर्ष धेरै लामो हुन सक्ने
हिज्बुल्लाहका सहायक प्रमुख शेख नाइम कसिमले इजरायलले अहिलेसम्म गरेका आक्रमणहरू निकै कम भएको भन्दै सङ्घर्ष धेरै लामो हुन सक्ने जनाउनुभएको छ।
केही साताअघि भएका पेजर र वाकीटकी आक्रमणहरूमा हिज्बुल्लाहले ठूलो क्षति बेहोर्नुपरेको छ। ती आक्रमण इजरायलले गराएको ठानिएको छ। इजरायलले हिज्बुल्लाहका वरिष्ठ नेताहरूलाई लक्ष्य गर्दै उनीहरूको हत्या पनि गरिदिएको छ। इजरायलले गत शुक्रवार हिज्बुल्लाहका प्रमुख नस्रल्लाहको हत्या गरिदिएको थियो।
इजरायलले गरेका हवाई हमलाहरूमा हिज्बुल्लाहका सैन्य कमान्डरहरू तथा सर्वसाधारण मानिसहरूको पनि मृत्यु भएको छ।
लेबनानी अधिकारीहरूका अनुसार विगत दुई सातामा इजरायलले गरेका हमलामा परी १ हजार जनाभन्दा बढी लेबनानीको मृत्यु भइसकेको छ भने १० लाख जना विस्थापित भइसकेका छन्।