Prakash Adhikari October 5, 2024

चेन्नई(तामिलनाडु), १९ असोज (बीबीसी)। दक्षिण भारतको चेन्नई सहरमा एक महिला सरकारी कर्मचारीले लिपस्टिक लगाउने गरेका कारण आफूलाई अन्यत्र सरुवा गरिएको दाबी गर्नुभएको छ।

उक्त घटनाले इन्टरनेटको सामाजिक सञ्जालमा ठूलो बहस निम्त्याएको र लैङ्गिक अधिकार पैरवीकर्ताहरूलाई आक्रोशित तुल्याएको देखिएको छ। माधवी ऋ त्यहाँको स्थानीय सरकारको एक निकाय चेन्नई नगर निगममा विगत १५ वर्षदेखि कार्यरत हुनुहुन्थ्यो।

चेन्नईमा प्रिया राजन प्रथम महिला दलित नगरप्रमुख बनेको केही समयपछि तीन वर्षअघि माधवी प्रथम महिला मार्शल बन्नुभएको थियो। भारतमा दलित भनिने समुदायले परम्परागत रूपमा नै सामाजिक बहिष्करणको व्यवहार भोग्दै आएको छ।

माधवीको मुख्य काम सार्वजनिक स्थलमा नगरप्रमुखलाई भिडभिडमा सुरक्षा प्रदान गर्नु थियो।

माधवीका अनुसार गत मार्चमा नगरप्रमुखको कार्यालयद्वारा आयोजित महिला दिवसको कार्यक्रममा आफू सहभागी भएपछि यो विवाद सुरु भएको थियो।

“त्यस बेला एउटा फ्याशन शो भएको थियो। मैले त्यसमा ‘क्याटवाक’ गरेकी थिएँ,” माधवीले बीबीसीसँग भन्नुभयो।

माधवीको आरोपअनुसार नगरप्रमुख उक्त कार्यक्रमबाट अकस्मात् उठेर हिँड्नुभयो र पछि त्यस विषयमा कडा सोधपुछ गर्नुभयो।

“उहाँले मलाई किन मञ्चमा क्याटवाक गरेको भनेर सोध्नुभयो। तर उक्त कार्यक्रममा भएका घटनाबारे अन्य कुनै छलफल भएन,” माधवीले भन्नुभयो, “त्यसयता मैले लगाउने लिपस्टिकको रङ्गलाई मविरुद्ध हतियारका रूपमा प्रयोग गरिएको छ।”

माधवीका अनुसार उक्त घटनाको केही दिनपछि नगरप्रमुखका निजी सहायकले सबै कर्मचारीलाई चहकिलो लिपस्टिक नलगाउन मौखिक चेतावनी दिनुभयो। माधवीलाई उक्त कुरा चित्त बुझेन।

“यो मेरो शरीर हो र मैले के लगाउने वा नलगाउने, कस्तो रङ्गको लिपस्टिक लगाउने भन्ने मेरो नितान्त व्यक्तिगत अधिकारको कुरा हो। उनीहरू को हुन् यो विषयमा मलाई निर्देशित गर्ने ?”

अगस्ट ६ तारिखका दिन उहाँ कार्यालयमा ढिलो पुगेपछि उहाँसँग लिखित स्पष्टीकरण सोधियो।

बीबीसीले हेरेको उक्त पत्रमा आफ्नो जिम्मेवारीमा हेलचेक्र्याइँ गरेको, समयको अनुशासन पालना नगरेको, आफूभन्दा माथिल्ला अधिकारीको निर्देशन पालना नगरेको र ‘कार्यालयका निर्देशिकाहरू’ पालना नगरेको जस्ता कुराहरू उल्लेख छन्।

माधवीले खुट्टा भाँचिएका कारण बिहानको भिडभाड बढी हुने समयमा यात्रा गर्न गाह्रो भएकाले गर्दा कार्यालय पुग्न ढिलो भएको बताउनुभएको छ।

उहाँले उक्त पत्रको जबाफमा लेख्नुभयो “तपाईँले मलाई लिपस्टिक नलगाउन भन्नुभयो म त्यो कुरा मान्दिनँ। यदि यो अपराध हो भने लिपस्टिक लगाउनबाट रोक्ने सरकारी आदेश मलाई देखाउनुहोस्।”

तर आफ्नो स्पष्टीकरणबारे कुनै प्रतिक्रिया नपाएको उहाँले बताउनुभयो। बरु आफूलाई भोलिपल्टै उत्तरी चेन्नईको कार्यालयमा सरुवा गरिएको उहाँको भनाइ छ।

नगरप्रमुख प्रिया राजनले आफू र चेन्नई नगर निगमविरुद्धका सबै आरोपको खण्डन गर्नुभएको छ। उहाँले आफ्नो कार्यालयका कसैले पनि माधवीसँग लिपस्टिकको विषयमा कुनै कुराकानी नगरेको बताउनुभयो।

बीबीसीसँग कुरा गर्दै नगरप्रमुखले माधवीले काममा हाजिर हुनुपर्ने समयको अनुशासन पहिलेदेखि नै पालना नगर्ने गरेको बताउनुभयो। “हामीले उहाँलाई यस विषयमा दुई पटक चेतावनी दिइसकेका थियौँ तर उहाँले त्यसलाई बेवास्ता गर्नुभएको थियो,” उहाँले भन्नुभयो।

सार्वजनिक नैतिक व्यवहारको निगरानी

चेन्नईमा ७० लाख भन्दाबढी मानिसको बसोबास छ। धेरै पहिलादेखि उक्त सहरका आर्थिक गतिविधिमा महिलाहरू पनि सहभागी हुँदै आएका छन्।

नगरप्रमुख राजन स्वयं तमिलनाडू राज्यको सत्ताधारी क्षेत्रीय दल ुद्रविड मुन्नेत्र कझगमु (डीएमके) की सदस्य हुनुहुन्छ। उक्त पार्टीले आफूलाई प्रगतिशील राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्ने गर्छ। तर यो विवादले उक्त दलको छविमा केही प्रश्न खडा गरेको छ।

माधवीलाई सरुवा गर्ने आदेशका विषयमा सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा भएको छ। भारतका अधिकारवादीहरूले उहाँको सरुवाको आलोचना गरेका छन्।

चेन्नईस्थित महिला अधिकारवादी कार्यकर्ता निवेदिता लुइस भन्नुहुन्छ, ूयदि माधवीको आरोप सत्य हो भने हामीले सरकारी कार्यालयहरूमा महिलामाथि त्यस्तो नैतिक व्यवहारको निगरानी गर्ने धारणा लाद्ने ती व्यक्तिहरू को हुन् भनेर प्रश्न गर्नुपर्ने हुन्छ।”

उहाँले माधवीमाथिको दण्डनीय व्यवहारलाई “अतिशयोक्तिपूर्ण” भन्नुभएको छ।

माधवीले पुरानै स्थानमा फर्किन खोज्ने गरी आफूले मुद्दा नहाल्ने बताउनुभएको छ। बरु सामाजिक सञ्जालमा आफूप्रति व्यक्ति समर्थन र यो विषयमा भएको चर्चा नै आफ्ना लागि पर्याप्त भएको उहाँ ठान्नुहुन्छ।

माधवीले लिपस्टिक लगाउन छोड्नुभएको छैन। अहिले उहाँ स्थानीय र अझ सस्ता लिपस्टिक प्रयोग गर्नुहुन्छ।

“म आफू फ्याशनेबल व्यक्तिका रूपमा देखिन चाहन्छु। तर ब्र्यान्डेड सामानका लागि खर्च जुटाउन सक्दिनँ। म पार्लर पनि जान्नँ”,उहाँले बीबीसीसँग भन्नुभयो, मलाई गुलाफी लिपस्टिक मन पर्छ।”

Share Now