स्टकहोम, २४ असोज (रासस/एएफपी) : मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ ।
स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो ।”
लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उहाँको पहिलो उपन्यास हो ।
तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ ।
“धेरै विधालाई समेटेको यो धेरै समृद्ध र जटिल रचना हो”, एकेडेमी सदस्य अन्ना–कारिन पाल्मले पत्रकारहरूसँग भन्नुभयो, “हान काङले वास्तवमै तीव्र काव्यात्ममक गद्य लेख्नुहुन्छ जुन कोमल र निर्मम दुवै छ र कहिलेकाहीँ केही अतियथार्थवादी छ ।”
हानको सन् २०१४ को उपन्यास ‘ह्युमन एक्ट्स’ सन् १९८० मा दक्षिण कोरियाली सेनाद्वारा गरिएको नरसंहारबाट प्रेरित थियो र यो लोकतान्त्रिक विद्रोहबीच एक युवकको मृत्युको बारेमा छ ।
दुई वर्षपछि उहाँले ‘द ह्वाइट बुक’ प्रकाशित गर्नुभयो । उक्त पुस्तक जन्मेको केही घन्टापछि बितेकी उहाँकी जेठी बहिनीलाई समर्पित गरिएको छ । उक्त पुस्तकमा एकेडेमीले उहाँको ‘काव्यात्मक शैली’ बारे उल्लेख गरेको छ ।
एकेडेमीले हानको सन् २०१० को पुस्तक ‘द विन्ड ब्लोज, गो’ लाई ‘मित्रता र कलाकारिताको बारेमा जटिल उपन्यास भन्दै उपन्यासमा दुःख र परिवर्तनका लागि तीव्र चाहना प्रबल रूपमा उपस्थित छ’ भनी वर्णन गरेको छ ।
सन् २०१३ देखि सन् २०१७ सम्म पार्क गन–ह्येको राष्ट्रपति कालमा पार्कको सरकारको आलोचनाका लागि कालो सूचीमा राखिएका नौ हजारभन्दा बढी कलाकारमध्ये हान एक हुनुहुन्थ्यो ।
ती कलाकारहरूले उदारवादी विपक्षी दलहरूको समर्थन गरेका थिए भने पार्कको रूढिवादी सरकार र यसका नीतिगत असफलताहरूको आलोचना गरेका थिए । यसमा सन् २०१४ को सेवोल फेरी डुबेको घटनामा करिब तीन सय जनाको मृत्यु भएपछिको असफल उद्धार प्रयासहरू समावेश थिए ।
बिहीबारको हानको नोबेल पुरस्कार विजयले पुरस्कारको प्रतीक्षामा रहेकाहरूलाई आश्चर्यमा पारेको छ किनकि घोषणाअघिको अनुमानमा उहाँको नाम समावेश भएको थिएन ।
गत वर्ष यो पुरस्कार नर्वेली नाटककार जोन फोसेलाई दिइएको थियो । उहाँका नाटकहरू विश्वमा कुनै पनि समकालीन नाटककारका नाटकहरूमध्ये सबैभन्दा बढी मञ्चन गरिएका छन् ।
एकेडेमीलाई लामो समयदेखि आफ्ना चयनहरूमा पश्चिमी गोरा पुरुष लेखकहरूको अत्यधिक प्रतिनिधित्वका लागि आलोचना गरिएको थियो ।
स्विडिश एकेडेमीले सन् २०१८ को विनाशकारी मिटु प्रकरणपछि ठूलो सुधार गरेको छ र अधिक विश्वव्यापी तथा लैङ्गिक समानता भएको साहित्य पुरस्कारको प्रतिज्ञा गरेको छ ।
उक्त प्रकरणपछि एकेडेमीले हानसहित फ्रान्सकी एनी एर्नाक्स, अमेरिकी कवि लुइस ग्लक र पोल्यान्डकी ओल्गा टोकार्चुक गरी चार महिलालाई सम्मानित गरेको छ । पुरुषहरूमा अस्ट्रियाली लेखक पिटर हान्डके, तान्जानियाली लेखक अब्दुलराजाक गुर्नाह र नर्वेली फोसे सम्मानित हुनुभएको छ ।
नोबेल पुरस्कारमा डिप्लोमा, सुनको पदक र १० लाख डलरको पुरस्कार राशि समावेश छ ।
हानले डिसेम्बर १० मा स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफाबाट पुरस्कार प्राप्त गर्नुहुनेछ । उक्त दिन वैज्ञानिक एवं पुरस्कार संस्थापक अल्फ्रेड नोबेलको १८९६ को मृत्युको वार्षिकी हो ।
साहित्यमा नोबेल पुरस्कार
सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार १ सय १७ पटक प्रदान गरिएको छ भने यसबाट १ सय २१ जना साहित्यकार पुरस्कृत भएका छन्।
यसअघि कसले पाएका थिए
सन् २०२३: नर्वेका लेखक यून फोसालाई “व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले”
सन् २०२२: फ्रान्सेली साहित्यकार एनी एर्नोलाई “विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकाले”
सन् २०२१ः अब्दुलरजाक गुरनाहलाई “उनको औपनिवेशिक असर तथा संस्कृति र महादेशहरूबीचमा शरणार्थीको भाग्यबारे उनको सम्झौताबिनाको र प्रतिबद्ध प्रभावका लागि”
सन् २०२०: अमेरिकी कवि लुइस ग्लकलाई “सुन्दर काव्यात्मक आवाज का लागि”
सन् २०१९: अस्ट्रियाका नाटककार पिटर हान्कलाई ”सरल भाषामा मानव अनुभूतिको परिधिलाई उजागर गरेकाले”
सन् २०१८: पोल्यान्डका लेखक ओल्गा तोकाचुकलाई “जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने क्षमताका लागि”
विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ ठाकुर तथा ह्यारोल्ड पिन्टर र युजीन ओनील लगायतका नाटककारले प्राप्त गरेका छन्।
सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्लान् कि नगर्लान् भन्ने अन्योल देखा परेको थियो। अन्ततः उनले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिएका थिए।
सन् २०२४ को नोबेल पुरस्कार ककसले पाए?
चिकित्साशास्त्र : भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन
भौतिकशास्त्र : जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन
रसायनशास्त्र : डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्पर
साहित्य : हान काङ
नोबेल शान्ति पुरस्कार : शुक्रवार घोषणा हुने
अर्थशास्त्र : सोमबार घोषणा हुने