काठमाडौं, २३ कार्तिक । एसियान क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने यु १९ एसिया कपमा नेपालले पहिलो खेल श्रीलंकासंग खेल्ने भएको छ ।
एसीसीले शुक्रवार जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ ।
यु १९ एसीसी खेल ५० ओभरमा हुने छ । खेल युएईमा आयोजना हुदैछ । एसीसी यु १९ प्रतियोगीतामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका २ विजेताबीच मंसिर २३ मा फाइनल खेल हुनेछ ।