Prakash Adhikari November 14, 2024

भैरहवा(रुपन्देही),२९ कार्तिक । “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले तीन दिने “इम्प्लोइ स्किल इनह्यान्समेण्ट वर्कशप” भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको थियो ।

कम्पनीमा कार्यरत विभागीय प्रमुख तथा देशैभरिबाट प्रतिनिधिमूलक रुपमा उपस्थित प्रशासनिक कर्मचारीहरु गरी २ सय ५० जना भन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गर्नुहुँदै अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीमा कार्यरत सवै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पु¥याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भयो ।

उहाँले देशैभरिबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविणकुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रीय कार्यालयकी दीक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जनलाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाउनु भयो ।

यसैगरी, नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेज्यूले सम्पत्ति शुद्धीकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोले यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उहाँहरुको वित्तीय क्रियाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु सबैको कर्तव्य भएको वताउनु भयो ।

कार्यक्रममा सहभागी कर्मचारीहरुलाई प्रशिक्षक अरनिको सिंहूले आपूmलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरुको पहिचान हुने गरी खाका तयार गरेमा जुन सुकै समस्याको समाधान गर्न सहज हुने बताउनुभएको थियो । उहाँले सेवाग्राहीहरुलाई उत्कृष्ट सेवादिएमा नै कम्पनीको साखः अभिबृद्धि भई सेवाग्राहीको संख्या बृद्धि भएर कम्पनीको उन्नति हुने बताउनुभएको थियो ।

कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागी प्रशासनिक कर्मचारीहरुको परीक्षा संचालन गरिएको थियो सो परीक्षामा प्रथम, द्धितीय र तृतीय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रविणकुमार शर्मा, काठमाण्डौ शाखाबाट चक्रप्रसाद जोशी र केन्द्रीय कार्यालयबाट दीपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कारसहित सम्मान गर्नुभएको थियो ।

यसै गरी सो सम्मेलनमा पुरुषतर्फ फुटसल र महिलातर्फ म्यूजिकल चेयर जस्ता विविध खेलहरु पनि आयोजना गरिएको थियो । खेलमा फुटसलतर्फ प्रथम, द्धितीय र तृतीय हुने क्रमश कोशी प्रदेश, केन्द्रीय कार्यालय र बागमती प्रदेश तथा म्यूजिकल चेयरतर्फ प्रथम द्धितीय र तृतीय हुने क्रमश पवित्रा लुंगेली सिन्धुली, सविना भट्टराई कीर्तिपुर र अप्सरा खत्री गाईघाटलाई पनि प्रमुुख कार्यकारी अधिकृतले कप तथा मेडल प्रदान गर्नुभएको थियो ।

कार्यशाला कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share Now