Prakash Adhikari November 16, 2024

काठमाडौँ, १ मङ्सिरः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय समितिको आज बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले राससलाई जानकारी दिनुभयो । उहाँ कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापतिसमेत हुनुहुन्छ । उक्त पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ । समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाडौँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाडौँ जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ ।

कीर्तिपुर नगरपालिकामा २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुर नगरप्रमुखमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् ।

यस्तै नेपाली ककांग्रेसले कीर्तिपुर नगरपालिका कै वडा नम्बर १ को लागि इच्छा महर्जनलाई र ४ वडाको लागि राजेन्द्र बानियाँलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
–––

Share Now