काठमाडौँ, ४ मङ्सिरः लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा रू २ खर्ब ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार ३ लाख १९ हजार ३ सय ८१ करदाताको रु २ खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो ।
“आर्थिक वर्ष २०८०÷८१ को अन्तसम्ममा आईपुग्दा कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कसमेत उठ्न बाँकी कुल बक्यौता रकम रू १ खर्ब ३० अर्ब २४ करोड छभने कर कार्यालयबाट भएको कर निर्धारणप्रति विमति जनाउँदै आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम रू १ खर्ब २३ अर्ब ८० करोड छ”, विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विभागका महानिर्देशक रामप्रसाद आचार्य न्यायिक निरुपणमा जाँदा मुद्दा फछ्र्यौटमा ढिलाई हुँदा बक्यौता पनि बढेको बताउनुहुन्छ । विभागले भने धमाधम पुनरावलोकनका मुद्दा फछ्र्यौटमा गर्दै आएको छ । “बक्यौता रकममध्ये ५५ देखि ६० प्रतिशत विभिन्न न्यायिक निकायमा विचाराधीन छन् । विभागमा प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण, विभिन्न अदालतमा मुद्दा छिनोफानो नहुँदा बक्यौता बढेको हो”, उहाँले रासससँग भन्नुभयो ।
चालु मुद्दा फछ्र्यौट भएका जानकारी दिँदै महानिर्देशक आचार्यले भन्नुभयो “प्रशासकीय पुनरावलोकनमा गएका मुद्दा यथाशक्य चाँडो फछ्र्यौैट गरेका छौँ । धेरैभन्दा धेरै जनशक्ति परिचालन गरेर काम भएको छ । “ हामीले निर्धारण गरेको करउपर चित्त नबुझेमा न्यायिक निकायमा जान पाउने करदाताको अधिकार हो । तर, त्यस्ता मुद्दा फछ्र्यौट चाँडो हुँदा त्यसले बक्यौता असुली गर्न पनि सहज हुन्छ ।
कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी छन् । प्रतिवेदनअनुसार एक लाख ९६ हजार चार सय ६३ करदाताबाट रू एक खर्ब ८६ अर्ब ७८ करोड आयकर उठ्न बाँकी छ । आयकर तर्फ सात सय १८ करदाता प्रशासकीय पुनरावलोकनमा जाँदा रू एक खर्ब ११ अर्ब ६५ करोड आयकरबाट राज्य वञ्चित भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ एक लाख २० हजार आठ सय ३२ करदाताबाट रू ५९ अर्ब ९० करोड असुली हुन बाँकी छ । अन्तःशुल्क तीन सय ७४ करदाताबाट रू चार अर्ब ३१ करोड उठाउन बाँकी छ । अन्य एक हजार सात सय १२ करदाताले रू तीन अर्ब चार करोड राज्य कोषमा दाखिला गरेका छैनन् ।
बक्यौता कर सङ्कलनमा यसरी अवरोध हुँदा सरकारको राजस्व सङ्कलनको लक्ष्य प्रभावित भएको छ । आर्थिक वर्ष २०८०÷८१देखि चालु आर्थिक वर्ष का लागि एक हजार सात सय ४२ वटा प्रशासनिक पुनरावलोकनका निम्ति दर्ता हुँदा राज्य कोषमा रकम अपर्याप्तताको चाप बढेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा रू ६ खर्ब ७७ अर्ब ७३ करोड कर असुली गर्ने लक्ष्य निर्धारण भएकामारू पाँच खर्ब ३३ अर्ब तीन करोड मात्र उठेको थियो ।
आव २०७९÷८० देखि जिम्मेवारी सरेका र आव २०८०÷८१ मा दर्ता भएका जम्मा दुई हजार दुई सय ४४ निवेदनमध्ये गत आवमा जम्मा पाँच सय दुई वटा फछ्र्यौट भएका छन् । एक हजार सात सय ४२ निवेदन आव २०८१÷८२ को लागि सारिएका छन् ।
गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरूको रु २३ अर्ब ५० करोडभन्दा बढी बेरुजु थपिएको छ । उक्त आवको प्रारम्भमा कुल बेरुजु रकम रू ७६ अर्ब एक करोड ४२ लाख रहेकामा आवको अन्त्यमा त्यो बढेर रू ९९ अर्ब ५७ करोड ७८ लाख ८४ हजार पुगेको छ ।