धनगढी(कैलाली),५ मंसिर । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध हुनुभएको हो।
समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि डगौरा र भुल दुईजनाको उम्मेदवारी परेको थियो। नागरिक उन्मुक्तिकी उम्मेदवार डगौराले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिनुभयो।
नागरिक उन्मुक्ति र काँग्रेसका नेताहरुबीच समन्वय समितिमा काँग्रेसलाई समर्थन गरेर जाने सहमति भएको थियो। डगौरा नागरिक उन्मुक्ति पार्टीका नेता एवम् प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी, काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टलगायत नेताहरुसहित उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो।
समन्वय प्रमुखमा निर्विरोध हुनुभएकी भुल गत स्थानीय तह निर्वाचनमा कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा विजयी हुनुभएको थियो । काँग्रेस–एमालेको साझा उम्मेदवारको रुपमा उहाँले उम्मेदवारी दिनुभएको थियो। नागरिक उन्मुक्तिले समर्थन नगर्दा पनि काँग्रेस उम्मेदवार भुल निर्वाचित हुने निश्चित थियो ।
काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख पदमबहादुर कलेलको निधन भएपछि उक्त पद रिक्त छ।