काठमाडौं, २५ मंसिर । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई इरानको यु-१८ टोलीले पराजित गर्यो ।
सोमबारको खेलसहित इरानी टोलीले लगातार दोस्रो जित हात पार्यो भने राम्रो मानिएको गण्डकीले तेस्रो पराजय ब्यहोर्यो । अब गण्डकीको सेमिफाइनलमा पुग्ने संभावना कमजोर बनेको छ। सुरुवाती दुई सेटको अग्रता जोगाउन नसक्दा सोमबार गण्डकी हारको नतिजा खप्न बाध्य भयो।
जित निकाल्ने दबाबमा रहेको गण्डकीले इरानको यु-१८ टोलीविरूद्ध उत्कृष्ट सुरुवात गर्यो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। एक समय नेपालले २०-१७ को अग्रता बनाएपनि इरानले खेललाई २३-२३ को बराबरीमा पुर्यायो।
तर घरेलु टोली गण्डकीले २८-२६ ले पहिलो सेट जित्यो। यो सेटमा इरानको युवा टोलीले नेगेटिभ अंक धेरै दिंदा पनि गण्डकीलाई केहि सहज भएको थियो।
१-० को अग्रता बनाएको गण्डकीले १४-११ को अग्रता बनाएको थियो। तर यो सेटको अन्त्यतिर इरान खेलमा फर्कने कोशिशमा थियो। खेललाई २१-२१ को बराबरी सम्म पुर्याए पनि यो सेट पनि जित्न सकेन। २५-२३ ले गण्डकी दोस्रो सेट पनि जित्न सफल रहयो।
दुई सेट गुमाएको इरानको यु-१८ टिमलाई गण्डकीले तेस्रो सरटमा भने रोक्न सकेन। गण्डकीले तेस्रो सेट २१-२५ ले गुमायो। यो सँगै खेल दुई एकको स्थितिमा पुग्यो। चौथो सेटको सुरुवातमा ९-७ को अग्रता बनाएको थियो। यो झिनो अग्रता धेरै बेर टिकेन।
गण्डकी १४(१६ ले नै पछि पर्यो। यसपछि १६-१६ को बराबरीमा पुगेको थियो। तर अन्त्यमा इरानले गण्डकीलाई रोक्यो। २५-२२ ले इरानले यो सेट जिते सँगै खेल दुई-दुईको बराबरीमा पुग्यो।
यसपछि खेलको निर्णय पाँचौं सेटबाट भयो। पाँचौ सेटको पहिलो हाफ प्रतिस्पर्धात्मक नै बन्यो। गण्डकी विरूद्ध इरानले ८-७ को अग्रता बनायो। मात्र एक अंकले पछि रहेको अवस्थामा गण्डकीले लगातार दुई अंक गुमायो।
इरान १०-७ को अग्रता बनाउन सफल रहयो। यसपछि गण्डकी दबाबमा पर्यो। गण्डकीले खेललाई १३-१४ सम्म पुर्याएपनि इरानको युवा टिमले १५-१३ को जित निकाल्यो।
पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीसँग हारेको गण्डकी दोस्रो खेलमा हेल्प नेपालसँग पराजित भएको थियो। लगातारको तेस्रो हारमा गण्डकीको सेमिफाइनलमा पुग्ने संभावना कमजोर बनेको छ।
इरानी टिमको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३-२ को सेटमा हराएको थियो। लगातारको दोस्रो जितमा इरानको यु-१८ टिमले ४ अंक बनाएको छ।