कीर्तिपुर(काठमाडौं), २५ मंसिर । नेपाल प्रिमियर लिग अन्तरगत आज भैरहेको १६ औं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजसमक्ष १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेलमा मैदानमा टस हारेर ब्याटिड.को निम्तो पाएको लुम्बिनी लायन्सले २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ६७ रन जोडेको छ ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन जोडे । उनले ५७ बलमा ५ छक्का र ६ चौकाका मद्धतले ८० रन बनाएका थिए । खेलमा साद विन जाफरले ५२ रन बनाए । उनले ३५ बलमा ४ चौका र एक छक्का हिर्काएका थिए । लुम्बिनीका लागि अर्जुन साउदले १५, टम मूरले १०, सन्दीप जोराले ४, आशुतोष घिराइयाले १ रनको योगदान गरे भने उन्मुक्त चन्द शून्य रनमा आउट भए ।
लुम्बिनीलाई रोक्ने क्रममा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए ।
चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।