कीर्तिपुर (काठमाडौं),२८ मंसिर) । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तरगत आज भइरहेको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्ससमक्ष १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १९.३ ओभरमा अल आउट हुदै मात्र १ सय १ रनको योगफल तयार गर्यो ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे । खेलमा स्टेफेन एक्सिनाजीले १७ रन, माइकल लेभिट ८ रन, रसिद खान ७ रन , प्रतीक श्रेष्ठ ६ रन, भीम सार्की ४ रन र साहब आलम ८ रनमा नटआउट रहे भने दीपेश कँडेल र सुमित महर्जनले खाता खोल्न सकेनन् ।
काठमाडौंलाई रोक्ने क्रममा जनकपुरका ललित राजवंशी र शेर मल्लले समान ३। ३ , मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ । १ विकेट लिए ।
५ खेलमा ४ जित र १ हारका साथ जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । यो खेलमा पनि जित निकालेर लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ ।
जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो ।
४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ ।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो ।