Prakash Adhikari December 18, 2024

कीर्तिपुर(काठमाडौं), ३ पौष । पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आज दोस्रो चरणको खेल सुरु हुँदै छ । यस चरणको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरू हुने छ ।

सुदूरपश्चिम रोयल्स लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा पुगेर प्लेअफमा खेल्दै छ ।

पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली सिधै फाइनलमा पुग्ने छ भने यसमा पराजित हुने टोलीले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । सो खेलमा विजयी भएमा फाइनल यात्रा तय गर्ने छ ।

यी दुई टोलीबीच लिग चरणमा भएको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको थियो । खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले ५१ रनमा अलआउट गरेको थियो ।

सुदूरपश्चिम लिग चरणका सबै खेलमा उत्कृष्ट लयमा देखिएको टोली हो । उसले लिग चरणमा चितवन राइनोजसँगको एकमात्र हारेको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरको टोलीको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्र सबैभन्दा राम्रो देखिएको छ ।

जनकपुरले भने सुरूवाती चार खेल लगातार जितेपछि लय गुमाउन पुगेको थियो । पाँचौं खेलमा सुदूरपश्चिमसँगै १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा ५१ रनमा अलआउट भएपछि काठमाण्डुलाई हराएको जनकपुर अन्तिम खेलमा चितवनसँग पराजित भएको थियो ।

फाइनलका बेला जनकपुरलाई अर्को धक्का लागेको छ । ओपनर अनिल साह चोटका कारण प्रतियोगिताबाटै बाहिरिसकेका छन् । अब जनकपुरले आसिफसँग नयाँ ओपनिङ विकल्प खोज्नुपर्ने छ । पछिल्लो समय यू १९ टिममा राम्रो गरिरहेका आकाश त्रिपाठी र मयन यादव मध्ये एकजनाले अनिलको स्थान लिन सक्ने बताइन्छ ।

सुदूरपश्चिम रोयल्स सम्भावित ११मा विनोद भण्डारी, सेफ अली जैब, ब्रान्डन माकमुलेन, इशान पाण्डे, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, स्कट कुग्लेइन, नरेन साउद, नरेश बुढाएर र अविनाश बोहरा रहेका छन् ।

त्यस्तै जनकपुर बोल्ट्सका सम्भावित ११ मा मयन यादव वा आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, जिमी निशम, मोहमद मोहसिन, शुभ कंसाकार, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी रहेका छन् ।

Share Now