Prakash Adhikari December 21, 2024

कीर्तिपुर(काठमाडौं), ६ पौष । पहिलो संस्करणको सिद्धार्थबैक नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषणको रुपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन्।

नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका छन्।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्रिफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रूपैयाँ मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एनपीएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए। ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपीएलकोे पहिलो संस्करणमा उपविजेता बनेको छ। कप्तान ऐरीले एनपीएलका नौ खेलबाट २ सय २७ रन जोड्दै नौ विकेट लिएका थिए।

एनपीएलको विजेता टोली जनकपुर बोेल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्। उनले एनपीएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन्। ललितले एनपीएलमा १७ विकेट लिंदै चार रन समेत जोडेका थिए।

‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन्। उनले पाँच लाखको चेक प्राप्त गरे। जैबले एनपीएलमा सुदूरपश्चिमको लागि २ सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए।

जनकपुरबाट एनपीएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन्। एनपीएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन्। मिलान्थाले एनपीएलमा कूल २ सय ९३ रन बनाए ंं।

यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन्। उनले २ लाखकोे चेक समेत प्राप्त गरेका छन्। निशमले जनकपुरको लागि २ सय ४७ रन जोड्दै ७ विकेट पनि लिएका थिए।

कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’को अवार्डसहित ५० हजारको चेक प्राप्त गरेका छन्। साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट १० लाख बराबरकोे छात्रवृत्तिसमेत प्राप्त गरेका छन्।

विपीनले एनपीएलमा १३ विकेट लिएका थिए। एनपीएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’को अवार्ड जितेको छ

Share Now