काठमाडौँ, ८ पुसः साताको दोस्रो कारोबार दिन सोमवार नेपालो शेयर बजार उकालो यात्रातिर लागेको छ । यस दिन धितोपत्र बजार परिसूचक २८.९१ अङ्कले बढेर २६१२.२० विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज विभिन्न ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता शेयर ५५ हजार ९ सय ३८ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ मा कारोबार भएको छ ।
आजको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९. ९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ ।
त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटाकम्पनीको शेयर मूल्यमा रातो देखिएको छ ।
नेप्सेका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकको तीन दशमलव १६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको दुई दशमलव ३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को एक दशमलव ९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य एक दशमलव ८६ प्रतिशतले ओरालो लागेको छ ।
—