Prakash Adhikari December 24, 2024

भक्तपुर, ९ पुस : सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ । पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो । हत्यापछि फरार रहेका रुपेशलाई प्रहरीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका रुपेशसँग बयान लिने कार्य जारी रहेको छ । उनलाई भक्तपुर प्रहरी परिसर पठाएको उहाँले बताउनुभयो । “प्रारम्भिक अनुन्धान र बयान क्रममा बुबा र भाइको हत्या कुलप्रसादकै जेठा छोरा रुपेशले नै गरेको पाइएको छ । बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको उनले स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार बुबा र भाइको शनिबार राति हत्या गरेपछि आइतबार बिहान कोठामा ताल्चा लगाएर रुपेश स्कुटरमा फरार भएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरले आजै उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर छोराहरु बस्दै आएको स्थान बालकोट आएका थिए ।

फरार जेठा छोरातिरै प्रहरीको अनुसन्धान केन्द्रित

सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा  रुपेश(मिलन) आचार्य भने सम्पर्कविहीन छन् । “दुवै कोठाको बाहिर ताल्चा लगाइएको छ, भित्र दुई जना मृत अवस्थामा भेटिएका छन् । मृतक दुवैको टाउको र शरीरका अङ्गमा चोट लागेकाले घट्ना हत्याका कारण भएको हुनसक्ने आधारमा हामीले अनुसन्धान अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो,“घट्ना भएपछि अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान टोली, केएमसी अस्पताल दुवाकोटका फरेन्सिक चिकित्सक टोली र तालिमप्राप्त कुकुरसहित घट्नास्थलमा अनुसन्धान सुरु गरेका छौँ ।”

छिमेकीले शनिबार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरिएको जनाइएको छ ।

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आउनुभएको बुझिएको छ । दुईभाई छोरामध्ये जेठा छोरा रुपेश (मिलन) स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बुढाथोकीले शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र सम्पर्कविहीन रहेका रुपेश (मिलन) सम्पर्कमा आएपछि घट्नाको वास्तविकता खुल्नेबताउनुभएको थियो ।

Share Now