काठमाडौं, २४ पौष । आज पनि नेपालको शेयर बजार उकालो लागेको छ । शेयर बजार सुस्त गतिले निरन्तर बढ्न थालेको यो छैठौँ कारोबार दिन हो। गत साताको बुधबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज धितोपत्र बजार परिसूचक ६.३८ अंक बढेर २६५३.२३ विन्दुमा पुगेको छ। बुधबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको १ करोड ५५ लाख २ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार दुई स्टकको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ। यस दिन समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्ते, यस दिन चिरख्वा हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन न्यादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख ४९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको साढे १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सुपर मादी हाइड्रोपावरको १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
नेपाल धितोपत्र बिनिमय बजारमा सूचीकरण भएर बर्गीकृत भएका १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने लघुवित्त उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत घटेको छ।