Prakash Adhikari January 14, 2025

काठमाडौँ १ माघ: आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग (एनकेएल) प्रतियोगितामा हुँदैछ । दुई हप्तासम्म चल्ने उक्त प्रतियोगिताको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न छ सहरका छ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

ती टिममध्येको एक काठमाडु माभरिक्सका मार्की खेलाडी एवं नेपाली राष्ट्रिय कबड्डी खेलका कप्तान घनश्याम रोका मगरले नेपाली कबड्डी खेलको विकास र विस्तारमा प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले आफ्नो टिमले प्रतियोगिताको उपाधि जित्ने विश्वाससहित तयारी गरेको बताउनुभयो । रोल्पा घर भई हाल भारतमा बसोबास गर्दै आउनुभएका घनश्यामले भारतमा आयोजना भएका विभिन्न कबड्डी प्रतियोगितामा पनि सहभागिता जनाइसक्नुभएको छ ।

प्रतियोगितामा काठमान्डु माभरिक्ससँगै विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स सहभागी हुँदैछन् । उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ । राउन्ड रोबिन लिगमा १५ खेल हुनेछन्, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर एक खेल्नेछन्, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

यस्तै लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछन्, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते क्वालिफाइर २ हुनेछ, जसको विजेता टोलीले फाइनलमा स्थान पाउनेछ ।

फाइनल खेल भने माघ १८ गते हुनेछ । एनकेएलमा दैनिक एक वा दुई खेल सञ्चालन गरिने छन् । दुई खेल हुँदा दिनको पहिलो खेल साँझ ५ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल ६ः३० बजे प्रारम्भ हुने आयोजकले जनाएको छ । एक खेलमात्रै भएको दिन प्रतिस्पर्धा प्रारम्भ हुने समय साँझ ६ः३० बजे तोकिएको छ ।

Share Now