Prakash Adhikari January 23, 2025

काठमाडौं, १० माघ । स्वदेशी उत्पादन र सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘मेक इन नेपाल एक्स्पो’को आयोजना गरिएको छ।

माघ १० गतेदेखि १२ गतेसम्म चल्ने यो प्रदर्शनी मेलामा १ सय ५० भन्दा बढी स्वदेशी स्टलहरू रहनेछन्।

नेपाल पश्मिना उद्योग संघद्धारा आयोजित यस मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिना स्टलहरूको पनि समावेशी हुनेछ। मेलामा च्याङ्ग्रादेखि पश्मिना उत्पादनसम्मको प्रत्यक्ष निर्माण प्रक्रिया देखाउने, स्वदेशी लुगा र पश्मिनाको फेशन शो, र नेपाली रैथाने खानाका परिकारहरूको प्रदर्शनी हुनेछ।

नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले मेलामा मुस्ताङबाट च्याङ्ग्रा ल्याएर त्यसको फाम टू फाइबर र फाइबर टू फेसन देखाउने कुरा उल्लेख गर्नुभयो।

यस मेलामा ५० हजार भन्दाबढी दर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई) मेलाको सहआयोजकका रूपमा रहेको छ भने नेपाल सरकारको उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले मेलालाई प्रवर्द्धन गरेका छन्।

मेलाको व्यवस्थापन राइजिङ नेपाल र इभेन्ट सन्सारले गर्नेछन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाली पश्मिनाको प्रचार र व्यापारको विकासका लागि मेलाको आयोजना महत्वपूर्ण भएको बताउनुभएको छ।

Share Now