Prakash Adhikari January 28, 2025

 

पोखरा(कास्की), १५ माघ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा आयोजक टोली टाइगर टिमले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

योसँगै महिला टोलीतर्फ विजेता समूहबाट आयोजक टाइगर टिम र एपीएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ ।

लिग चरणको एक खेल अगावै आयोजक टाइगर र एपीएफ टोलीले ३–३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यु डायमन्डले पराजित समूहबाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार नै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटले पराजित गरेको थियो ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबद्धारा नेपाल पुलिस क्लब पराजित

Tiger Cup Volleyball: Police lost to Army

मंगलवार नै भएको  पुरुषतर्फको  खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको  खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो ।

पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौंथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पार्‍यो । आर्मीले तेस्रो सेट २५–१५ र चौंथो सेट २५–२२ ले जित हासिल गर्‍यो । पहिलो चरणबाट विजेता समूहमा अब आर्मीले बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

गण्डकीद्धारा एपीएफ पराजित

एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३( १ सेटको जित दर्ता गराएको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पर्यो ।

अब गण्डकी र एपिएफले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछन् । त्यसपछि शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

यसअघि महिलातर्फ भएको खेलमा आयोजक टोली र नेपाल पुलिस क्लब विजयी भएका थिए । आयोजक टोलीले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

महिलातर्फ आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्नेछन् ।

पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

Share Now