काठमाडौं, २४ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सबै नेपाली महिलाहरुलाई शुभकामना दिनुभएको छ।
सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरेतापनि उनीहरुमाथि हुने सामाजिक र सांस्कृतिक विभेद कायमै रहेको बताउनुभएको छ । महिलामाथि सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा (८ मार्च) को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले पितृसत्तात्मक सोच, लैंगिक भेदभाव, महिला हिंसा, सम्पत्तिमा समान पहुँचको अभावजस्ता समस्या विद्यमान रहेको उल्लेख गर्नुभयो ।
सन्देशमा उहाँले भन्नुभएको छ, “अधिकार कानुनमा मात्र सीमित नहोस्, व्यवहारमा पनि समान अवसरको प्रत्याभूति होस् भन्ने हाम्रो साझा लक्ष्य हुनुपर्छ ।” उहाँले महिला आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान गर्दै समतामूलक समाज निर्माणका लागि आह्वान गर्नुभएको छ । महिला दिवस हरेक वर्ष मार्च ८ मा लैङ्गिक समानता, महिला अधिकार र उनीहरूको उपलब्धिहरूको सम्मानका लागि मनाइन्छ । यो दिवसले महिलाले सामना गरेका चुनौतीहरूको स्मरण गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा उनीहरूको योगदानलाई उजागर गर्ने गरिएको छ ।
“नेपालको महिला आन्दोलनले एक शताब्दीभन्दा लामो सङ्घर्षपछि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, महिलाले राज्यका विभिन्न तहमा आफ्नो उपस्थिति स्थापित गरेका छन्, महिलाको विद्रोह र सङ्गठित प्रयत्नकै कारण राजनीतिक दलले महिला अधिकारका सवाललाई आफ्नो एजेन्डाका रूपमा स्वीकार गरेका छन्,” उहाँले भन्नुभएको छ । नेपालको संविधान र कानुनले महिलाका हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले संवैधानिक व्यवस्थाअनुसार सङ्घीय, प्रदेश तथा स्थानीय तहमा महिला प्रतिनिधित्वको व्यवस्थासमेत गरिएको बताउनुभएको छ ।
विभेदका प्रवृत्तिलाई समयमै अन्त्य गर्न जरुरी : राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदँलिएको समाजमा महिला तथा बालिकामाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज गर्न जरुरी रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले महिला हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज पार्न महिलाको नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न, समानताको व्यावहारिक प्रत्याभूति दिलाउन र बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यक औँल्याउनुभयो ।
अध्यक्ष दाहालले नेपालमा महिलाको सहभागितामा भएका विभिन्न सशक्त र विद्रोहात्मक आन्दोलनको प्रतिफल नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ । राज्यको सर्वोच्च तहदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ । संविधान र ऐनमार्फत् महिलाका पक्षमा व्यवस्था गरिएका कानुनको कार्यान्वयन गरेर मात्रै महिला अधिकार, समानता, सशक्तिकरणका विषय पूरा गर्न सकिने उहाँको भनाइ छ ।
“लैङ्गिक समानता, महिलाअधिकार एवं समान कामका लागि समान ज्यालाको आवाज उठाउँदै अधिकार प्राप्तिका लागि लड्ने प्रेरणा दिएको आजको दिन ८ मार्च संसारभरका महिलाको लागि ऐतिहासिक र गौरवमय दिन हो । यस दिनले हामी सबैलाई लैङ्गिक समानता, सशक्तिकरण र अधिकार प्राप्तिको आन्दोलनमा एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु,” उहाँले भन्नुभएको छ । अध्यक्ष दाहालले सबैखाले लैङ्गिक विभेद र असमानता अन्त्य गर्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
–––


















