कम्पाला(युगाण्डा), २४ फागुन । युगान्डामा जारी वुमन्स डे टी २० आई श्रृंखलामा नेपाली महिला टिमले नामिबियासमक्ष ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जारी खेलमा नामिबियाविरुद्ध नेपाल रनमा समेटिएको हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरमा ९२ रनमा समेटियो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ११ बलमा सर्वाधिक १८ रन जोडिन् । सम्झनाले ४ चौका प्रहार गरेकी थिइन् । कविता जोशीले ३१ बलमा १ चौकाको सहयोगमा १६ रन बनाइन् । पुजा महतोले २० बलमा १३ रन जोडिन् ।
इश्वरी बिष्ट १४ बलमा २ चौकाको सहयोगमा १७ रनमा नट आउट रहिन् ।
नेपाललाई रोक्ने क्रममा नामिबियाका लागि मिकेली मावातेली र विकि मावातेलीले समान ३ तथा काइलेन ग्रिनले २ विकेट लिए ।
नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच यो पहिलो खेल हो ।
नेपाली महिला टोली पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । श्रृंखलामा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । श्रृंखलामा हरेक टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।
लिग चरणको खेलपछि शीर्षमा रहने दुई टोलीबीच फाइनल हुनेछ ।


















