हंगकंग(चीन), २७ चैत्र । चतुष्कोणीय टी २० अन्तर्राष्ट्रिय श्रृखला खेल्न हंगकंग आइपुगेको नेपाली राष्ट्रिय टिमलाई पहिलो खेलमा कतारले १ सय ५१ रनको लक्ष्य दिएको छ ।
हंगकंगको मंगकक स्थित क्रिकेट मैदानमा भएको खेलमा कतारले ५ विकेटको क्षतिमा १ सय ५० रनको योगफल जोडेको हो ।
टस हारेर ब्याटिड गरेको कतारको लागि कप्तान इक्रामुल्लाह खानले ५४ रन जोडे । कतारका लागि साहजैब जमिलले ३१ , मुजिब उर रहमानले २०, मोहमद इश्रदले १८, अनुमुगा गणेश नागाराजनले १३, रिफायी थेदुभथले ६ र जसिम खानले ४ रन जोडेका थिए ।
कतारलाई रोक्ने क्रममा नेपालका करन के.सी., सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक एक विकेट लिए ।
नेपालसहित कुवेत, कतार र हङकङ सहभागी प्रतियोगिताको आज हुने दोस्रो खेलमा हङकङ र कुवेत खेल्नेछन् ।
भोलि नेपालले कुवेतको सामना गर्नेछ ।
शुक्रबार लिग चरणको अन्तिम खेलपछि शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।


















