Prakash Adhikari April 10, 2025

हंगकंग(चीन), २८ चैत्र । ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी २० अन्तर्राष्ट्रिय श्रृखलामा कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।

कुवेतविरुद्ध विहीबारको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे ।

आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे भने कुशलले ५० बलमा ८१ रन जोडे ।

कुशल मल्ल ४ रनमा आउट हुँदा नेपाल केही दबाबमा थियो । तर त्यसपछि ब्याट सम्हालेका दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए । दीपेन्द्रले १८ औं ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जित नजिक पुगेको थियो । उनी १९ औं ओभरको पहिलो बलमा क्याच आउट भए । दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए ।

गुलशन झा ९ रन र क्याप्टेन रोहित पौडेल ५ रनमा नटआउट रहे ।

यस पहिलो टस जितेर नेपालले बलिङ रोजेपछि कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो।

कुवेतका लागि ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए । उनी पाँचौ ओभरको पहिलो बलमा ललितनारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो ।

अर्का ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे । उनी दशौं ओभरमा आउट हुँदा कुवेत ९७ । २ को सुदृढ अवस्थामा रहेको थियो । क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरेका थिए । मित १४ औं ओभरमा सोमपालको बलमा बोल्ड भए । उनले २८ बलमा ३५ रन जोडे । सोमपालले त्यसको २ बलपछि नै उस्मान पटेललाई १३ रनमा आफैं क्याच गर्दै पेभेलियन फर्काए ।

त्यसपछि क्रिजमा आएका बिलाल ताहिरले १३ बलमा १ चौका र ४ छक्कासहित ३२ रन जोड्दै कुवेतले खेलमा फर्काए । उनी १८ औं ओभरमा नन्दन यादवको शिकार बने । एक समय २ सय रनको आँकडा छुने देखिएको कुवेतले मध्य ओभरमा नेपाली स्पिनरविरुद्ध आक्रमण गर्न नसक्दा त्यसमा सफल भएन । नेपालको फिल्डीङ आजको खेलमा कमजोर रह्यो ।

नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १ । १ विकेट लिए ।

आज हुने दोस्रो खेलमा आयोजक हङकङले कतारको सामना गर्नेछ ।

सिरिजको पहिलो दिन नेपालले १ सय ५२ रनको लक्ष्य पछ्याउँदै कतारलाई ८ विकेटले पराजित गरेको थियो । कुवेतले हङकङविरुद्ध ४ विकेटको जित निकाल्ने क्रममा १ सय ७६ रनको लक्ष्य पछ्याएको थियो । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालको २ खेलमा ४ अंक हुँदा कुवेतको २ अंक छ । कतार र हङकङले खाता खोल्न प्रतिस्पर्धा गर्दैछन् ।

Share Now