लण्डन(संयुक्त अधिराज्य), ५ साउन । त्रिकोणात्मक टी २० र दुईवटा एक दिवसीय अन्तराष्टिय क्रिकेट खेलका लागि युरोप भ्रमणमा निस्केको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा इंग्ल्याण्डको ह्याम्पसायर हग्स क्रिकेट क्लबलाई २४३ रनको अन्तरले पराजित गरेको छ ।
यही जुलाई २९ तारिखमा नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लबसंग त्रिकोणात्मक टि-२० सिरिज र त्यसपछि अगस्ट १ र ३ तारिखमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तरास्ट्रिय खेल्ने क्रमका नेपाली क्रिकेट टोली बिहिबार लण्डन आइपुगेको थियो ।
अभ्यास खेल अन्तर्गत टस जितेर ब्याटिंग रोजेको नेपालले ३६२ रनको बिशाल योगफल तयार गरेको थियो। नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन जोडेको थियो।
नेपालको इनिंगमा पारस खड्काले आक्रमक पारि खेल्दै १ सय ६१ रन बनाए। ओपनर ज्ञानेन्द्र मल्ल व्यक्तिगत ५ रन बनाएर चाडैं पभेलियन फर्किएपछि ब्याटिंगमा उत्रिएका पारस खड्काले १९ चौका र ७ छक्का प्रहार गरे। नेपाली ब्याटिंगलाई सम्हाल्ने क्रममा पारस खड्काले शरद भेसावकर र दिपेन्द्र सिंह ऐरीसंग साझेदारी गरेका थिए।
शनिवारको खेलमा रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिंग गर्दै ३४ बलमा ४४ रन जोडे ।दिपेन्द्र सिंह ऐरीले ४६ बलमा ३७ रनको योगदान दिंदा आरिफ शेखले २७ तथा करण केसीले १८ रनको व्यक्तिगत योगदान गरे।
नेपालले पहिलो अभ्यास खेलमा सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन र अनिल कुमार साहलाई बिश्राम दिएको थियो ।।
३सय ६३ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा स्थानीय टिम १ सय १९ रनमै समेटिन पुग्यो। ललित राजबंशी एक्लैले ५ विकेट तथा सन्दीप लामिछाने र दिपेन्द्र ऐरीले २र२ विकेट लिएपछि हग्स निरीह बन्न पुग्यो। राजबंशीले १० ओभरमा ३४ रन खर्चिंदा ४ मेडन ओभर फाले। हग्सको लागि ह्यारी फ़िशरले सर्वाधिक ३३ तथा टम बाउचरले २२ रन योगदान दिए।
नेपालले दोश्रो अभ्यास खेलमा मंगलबार सेन्ट क्रस क्लबसंग टि-२० खेल खेल्ने कार्यक्रम रहेकोछ।
यस्तै जुलाई २५ मा इस्ट लन्डन ११ संग एउटा ५० ओभर र २६ जुलाईमा इस्ट लन्डन शार्क्ससंग एउटा टि-२० खेल्ने कार्यक्रम रहेको छ ।
नेपालले एक दिवसीय क्रिकेट राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपाली क्रिकेट टोलीको यो पहिलो
युरोप यात्रा हो ।