Prakash Adhikari April 19, 2025

काठमाडौं, ६ बैशाख । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको पहिलो क्वालिफायर खेलमा ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लब भिड्दै छन् ।

लिग चरणको खेल सकिंदा ललितपुर एक मात्र अपराजित टोली हो । पछिल्लो दुई संस्करणमा भन्दा यो पटक ललितपुर लिग चरणमा सबैभन्दा उत्कृष्ट नतिजा निकालेको छ।

एनएसएलमा ललितपुर कुल ९ खेलमा अपराजित छ। गत संस्करणको ३ र यो पटक ६ खेल गरी लगातार ९ खेलमा टोलीले हार बेहोरेको छैन। अपराजित यात्रालाई कायम राख्दै ललितपुर फाइनल पुग्ने प्रयासमा हुनेछ ।

अर्को धनगढीले ३ जित, २ बराबरी र १ हार बेहोर्दै ११ अंक बनायो। पछिल्ला दुवै संस्करणमा फाइनल खेलेको यस पटक लिगमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको हो। धनगढीले लिगको अन्तिम खेलमा चितवनसँग ३(१ को हार बेहोर्यो।

त्यो नतिजाले कुनै असर नगर्ने भएकोले उसले आफ्नो महत्वपूर्ण खेलाडीलाई आराम दियो। जसको कारण दोस्रो रोजाइको खेलाडी उतारेको थियो। त्यो हारले मोमेन्टम गुम्यो या आराम पाएर खेलाडी अझ सशक्त रुपमा मैदानमा उत्रनेछ, यो आज साँझको खेलले बताउँनेछ।

यो पटक विदेशी खेलाडीको वर्चस्व सबै क्लबमा छ। धेरै टिमलाई विदेशी खेलाडीको भर छ। तर ठिक विपरित ललितपुरमा भने विदेशी खेलाडीको तुलनमा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्।

ललितपुरले उत्कृष्ट टिम गेम खेलिरहेको छ। कप्तान अनन्त तामाङ, सनिश श्रेष्ठ र मणि कुमार लामाले प्रभावशाली प्रदर्शन गरिरहेका छन्।

विदेशी खेलाडी इमोह इजाकियलको प्रदर्शन पनि उत्कृष्ट छ। साथै दुई खेलमा दुई गोल गरेका जोनाथन क्यान्टिलाना पनि चोट मुक्त भएर फर्कने संभावना रहेको छ।

धनगढीमा भने रवाफ विदेशी खेलाडी कै छ। सबैभन्दा उत्कृष्ट खेल खेलिरहेका विदेशी खेलाडी अहमद हिजाजी टोलीको सबैभन्दा ठुलो अस्त्रको रुपमा रहेका छन्। उनलाई रोक्ने रणनीति ललितपुरले आज बनाउनै पर्ने छ।

५ खेलमा एक ह्याट्रिक सहित हिजाजीले ५ गोल गरेका छन्। उनी सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन्। सर्जियो बारबोजा र नेपाली खेलाडी कृतिश रत्न छुन्जु प्रभाव पान सक्ने खेलाडी हुन्।

धनगढी र ललितपुर दुवै टोलीमा प्रशिक्षक विदेशी हुन्। जारी लिगको लिग चरणमा दुवै टोलीले गोलरहित बराबरीको नतिजा निकालेका थिए। आज यी दुई विदेशी प्रशिक्षकसँग जितको रणनीति हुनु नितान्त जरुरी छ।

तीन संस्करणमा तीन पटक नै पहिलो क्वालिफायर खेल्ने धनगढी एक्लो टोली हो । यसअघि दुई क्वालिफायर जितेर फाइनलमा पुगेको थियो। प्ले अफमा धनगढी हार्न नजान्ने टिम हो। यो इतिहास हो। यसलाई कायमै राख्न धनगढीले आज उत्कृष्ट प्रदर्शन गर्नु जरूरी छ।

एनएसएलका नै दुई ठुला टोली आमने सामने हुँदा धनगढीले अहिलेसम्म ललितपुरलाई हराउन सकेको छैन। यसअघि ४ पटकको प्रतिस्पर्धामा ३ खेलमा बराबरी नतिजा आएको थियो। एक खेल गत संस्करणको फाइनलमा ललितपुरले धनगढीलाई ३(२ ले हराएको थियो।

यी दुई बीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः०० बजे सुरु हुनेछ।

 

Share Now